बुधबार, साउन २०, २०७८

उपेन्द्र यादवले गरे सरकारका ९ मन्त्रीलाई पार्टीबाटै निष्काशन

ज्योतिन्यूज २०७८ असार ३ गते १८:५४

काठमाडौँ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले वर्तमान सरकारमा सहभागि भएका ९ मन्त्रीलाई पार्टीबाटै निष्काशन गरेको छ ।

बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्य उपस्थित बैठकले सरकारमा गएका ९ मन्त्रीहरुलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो।

पार्टीबाट निकालिनेमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका शरत्‌सिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, खानेपानी मन्त्री अनिल झा, संस्कृति, पर्यटन तथ नगरिक उड्यन मन्त्री उमाशंकर अरगरिया, खेलकुद मन्त्री एकवाल मियाँ, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री चन्दा चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल प्रसाद श्रीवास्तव, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरी र महिला, बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङ रहेका छन् ।

जसपाले यसअघि उनीहरुलाई ७ दिने स्पष्टीकरण सोधेको थियो। तर जवाफ नदिएपछि कारवाही गरिएको हो ।

यसअघि उपेन्द्र पक्षले स्पष्टीकरणको जवाफ दिन इन्कार गरेको भन्दै अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो तथा नेताहरु लक्षमणलाल कर्ण र सर्बेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्काशन गरिसकेको छ। जसपाको कार्यकारिणी समितिमा उपेन्द्र पक्षको बहुमत छ।

५१ सदस्यीय कार्यकारिणी समितिमा बिहीबारको बैठकमा ३० जना उपस्थित भएका थिए।

यता अर्का अध्यक्ष ठाकुरले भने कार्यकारिणी समितिमा बहुमत पुर्याउन आफूपक्षका २० जना नेताहरुलाई मनोनयन गरेका छन् ।

प्रतिक्रिया