बुधबार, साउन २०, २०७८

जसपा विवादः निर्वाचन आयोगले ठाकुर पक्षसँग माग्यो लिखित जवाफ

ज्योतिन्यूज २०७८ असार ७ गते १७:२२

काठमाडौं । निर्वाचन आयोगमा पुगेको जनता समाजवादी पार्टी नेपाल (जसपा)को निर्णय गर्न आयोगले अध्यक्ष महन्थ ठाकुरलाई लिखित जवाफ माग गरेको छ । उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दाबी गरेपछि आयोगले ठाकुर पक्षसँग जवाफ माग गरेको हो। आयोगको आइतबारको बैठकले ठाकुर पक्षलाई १५ दिनको समय उपलब्ध गराउँदै जवाफ दिन भनेको हो।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४४ (२) मा एक पक्षले आधिकारिता दाबी गर्दै निवेदन दिएमा अर्को पक्षलाई १५ दिनको समय दिएर जवाफ माग्नुपर्ने व्यवस्था छ। अर्को पक्षले माग गरेमा थप १० दिन सकिने व्यवस्था ऐनमा छ।

असार ४ गते यादव पक्षले आयोगसमक्ष आधिकारिकताको दाबी गरेका थिए। उनले कार्यकारिणी समितिका ५१ मध्ये ३० जना सदस्यको हस्ताक्षरसहित दलको आधिकारिता दाबी गरेका हुन्।

‘दल दर्ता हुँदा बखतको विवादरहित दलको बहुमत केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु हाम्रो पक्षमा रहेकोले विवाद उत्पन्न अघिको दलको हैसियतको मान्यता दिन दल/पार्टीको आधिकारिकताको लागि जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको मिति २०७८।३।३ को निर्णय बमोजिम लिखित दाबी पेश गरेका छौँ’, यादवद्वारा आयोगमा दर्ता गरिएको पत्रमा उल्लेख छ।

यादव पक्षले आधिकारिकता दाबी गर्दै असार ४ गते निवेदन दिएपछि आयोगले ठाकुर पक्षलाई असार ६ गते पत्र पठाएर लिखित जवाफ पेस गर्न भन्यो। राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ मा एक पक्षले आधिकारिता दाबी गर्दै निवेदन दिएमा अर्को पक्षलाई १५ दिनको समय दिएर जवाफ माग्नुपर्ने व्यवस्था छ। अर्को पक्षले माग गरेमा थप १० दिन सकिने व्यवस्था ऐनमा छ।

जसपामा विवाद बढ्दै गएपछि दुवै पक्षले एकअर्कालाई कारबाही गर्दै आयोगलाई जानकारी गरारहेका छन्। गत जेठ १८ गते यादव पक्षले ठाकुर पक्षका ४ जना र ठाकुरले यादवलाई निष्कासन गर्दै आफ्नो दलको दर्ता किताबलाई अद्यावधिक गर्न अनुरोध गरेका थिए। तर, आयोगको जेठ ३१ को बैठकले दुवै पक्षको कारबाहीलाई अस्वीकार गर्दै साविक पदाधिकारीलाई कायमै रहने भनेको थियो।

असार १ मै ठाकुर पक्षले विवादित विवरणसहित आयोगमा कागजपत्र दर्ता गरेपछि उपेन्द्र यादव पक्षले त्यसको खण्डन गर्दै आधिकारिकता दाबी गरेको हो। त्यसपछि आयोगले नयाँ निर्णय गरेको हो।

योसँगै निर्वाचन आयोग जसपाको आधिकारिकतासम्बन्धी विवाद निरुपणमा प्रवेश गरेको छ ।

आयोगको निर्णयमा भनिएको छ , ‘जनता समाजवादी पार्टी नेपालका तर्फबाट उक्त दलको केन्द्रीय कार्यकारिणी समितिको निर्णय र आवश्यक कागजातसहित राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ को खण्ड (ग) बमोजिम दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विववाद निरुपण गरिपाउँ भन्नेसमेत व्यहोराको निवेदन २०७८/३/४ मा दर्ता हुन आएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा २ बमोजिम निवेदन दावीका सम्बन्धमा लिखित जवाफ पेश गर्नका लागि यस्तो दावी तथा प्रमाणको प्रतिलिपी संलग्न गरी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनको सूचना दिने र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्ने ।’

प्रतिक्रिया