बुधबार, साउन २०, २०७८

नारायणी नदीको डुबान र कटान क्षेत्रमा प्रचण्ड

ज्योतिन्यूज २०७८ असार ८ गते ११:१३

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहजिल्ला चितवनका विभिन्न ठाँउमा पुगी डुवान तथा कटान गरेका क्षेत्रहरुको अवलोकन अनुगमन गर्नुभएको छ ।

मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन गर्दे दाहालले पीडितहरुको क्षतिपूर्तिको निम्ती पहल गर्ने बताउनुभयो ।

उहाँ अनुगमनको क्रममा भरतपुर महानगरपालिका वडा नम्बर २६ को सिसई क्षेत्रमा पुग्नुभएको थियो ।

उहाँले नारायणी र राप्ती नदीको डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न आफूले यसको विस्तृत गुरूयोजना बनाई काम अगाडि बढाएको र आवश्यक बजेट सुनिश्चितताको लागि पहल गरिरहेको बताउनुभयो ।

दाहालले डुबानको पीडामा परेका स्थानिय समुदायलाई सुरक्षित रहन आग्रह गर्दै नारायणी नदीको वर्षेनी हुने डुबान र कटानको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अनुगमनको क्रममा स्थानीयहरूले असार पहिलो हप्ता आएको बाढी र डुबानबाट भएको क्षतिको बारेमा अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए।

अध्यक्ष प्रचण्डले आफूलाई यस क्षेत्रका समस्याहरूको जानकारी भएको भन्दै नदी तटबन्धन र डुबानका साथै जंगली जनावरका कारण भइरहेको क्षति न्यूनीकरण गर्न आफूले अर्थमन्त्रीसँग आवश्यक बजेटका लागि कुरा गरिसकेको समेत बताउनुभयो ।

मंगलबार नै यस सम्बन्धी भएका कामहरूका बारेमा अध्यक्ष प्रचण्डले जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला कार्यालय प्रमुखहरूसँग छलफल समेत गर्ने उहाँको तयारी छ ।

बाढीले भरतपुर महानगरपालिकाको वडा नम्बर ३ को दोभान चोक, वडा नम्बर १६ को झनझने र वडा नम्बर २६ को सिसईमा गरी २५० घर डुबानमा परेका थिए। एक सय बिगाहा बढी खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो।

प्रतिक्रिया