बुधबार, साउन २०, २०७८

बेलायतमा साइकल दुर्घटनामा परेका नेपालका बद्री गौतमको मृत्यु

ज्योतिन्यूज २०७८ असार ११ गते ९:०९

काठमाडौं । बेलायतमा साइकल दुर्घटनामा परेका नेपालीको मृत्यु भएको छ ।

नटिङघम शहरमा साइकल दुर्घटनामा गम्भीर घाइते भएका ३४ वर्षे बद्री गौतमको उपचारका क्रममा मृत्यु भएको हो ।

गत १८ जुन २०२१ शुक्रबार बिहान ९ बजे भलिबल खेल्न निस्किएका उनी घर फर्कने क्रममा घरबाट करिब ४ मिनेटको दूरी नजिक रोबिनहुड रोड नजिकै गल्स एकाडेमी स्कुल आगाडि साइकलबाट लडेका थिए ।

घटनापछि नटिङघम शहरस्थित क्वीन्स् मेडिकल सेन्टरको सघन कक्षमा उपचारररत उनको उपचारकै क्रममा मृत्यु भएको गौतमका भिनाजु विष्णु चालिसेले जानकारी दिनुभयो ।

टाउकोमा गम्भीर चोट लागेका कारण अक्सिजन र रगत प्रवाह हुन नसक्दा आइतबार राति १० बजे निधन भएको बताइएको छ । तीन वर्षअघि साइकलबाटै लडेर टाउकोमा गम्भीर घाइते भएपछि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।

त्यसपछि साइकल चलाउन छाडेका गौतमले केही दिन अघिमात्र साइकल चलाउन शुरु गरेका थिए । नेपालको बाग्लुङ गल्कोट नगरपालिका बडागाउँमा जन्मिएका बद्री सन् २००९ फेब्रुअरीमा बेलायत पुगेका थिए ।

प्रतिक्रिया