बुधबार, साउन २०, २०७८

आमा शिक्षक र हाम्रो आवश्यकता

सीता भुसाल २०७८ असार २५ गते १८:५९

महिला हिंसा विरुद्धको अभियानको विषयमा गुगल सर्च गर्दै थिएँ । मोवाइलमा घण्टी बज्यो । सेभ नभएको नम्बर रहेछ । फोन उठाउने बित्तिकै आवाज बाट चिनिहालें । उपल्लो तम्घास माविको प्र.अ प्रियङ्काको रहेछ ।

अलिक लामो समय भेटघाट नभएकोले शुरुमा केही बेर औपचारिक कुराकानी भए । बिस्तारै हामी खुल्दै गयौ । म भन्दा उमेरले अलिक सानी भएपनि उनको परिपक्कता मेरो साथी भन्न मिल्ने खालको छ ।

पारिवारिक सीमित दायराबाट बाहिर निस्केर पहिचानको लडाइँ गर्ने उनी पनि यो पुस्ताको राम्रो उदारहण हुन । कलेज पढदै गर्दा विवाह गरी दुई बच्चाकी आमा समेत भएकी उनको मनभित्रको हुटहुटी मैले उनका सुन्दर आँखामा धेरै पटक पढेकी छु । त्यसैले त उनी मेरो लागि प्रिय छन । दोहोरो तेहरो जिम्मेवारी निभाउदै सामाजिक आन्दोलनमा होमिएर महिलाहरुको सामाजिक प्रतिष्ठा उँचो राख्न उनी जस्ता हजारौ महिलाहरु आजको दिनसम्म पनि संसारभर निरन्तर लागि परेका छन ।

प्रियङ्का अर्थात हाम्री पिङ्कीले फोन गर्नुको खास कारण विद्यालयबाट प्रकाशन हुने मुखपत्रमा मेरो लेख राखौँ भन्नको लागि रहेछ । लेख्ने बानी अचेल सारै कम गरेको भएपनि उनको प्रशंसा मिश्रीत आग्रहले मलाई केही न केही लेख्न बाध्य बनायो । महिलाहरुको अलि बढी उपस्थिति देखिएको शिक्षा क्षेत्रमा आजभोली उनी जस्ता सक्षम महिलाहरुले नेतृत्व गर्दै आएका छन । जुन धेरै खुशीको कुरा हो । उनी प्र.अ भएको समाचार सामजिक संजालमा देख्दा मेरा आँखामा रसाएका थिए । हर्षले आसु बगेका थिए । एउटी सर्घससिल छोरी, कर्तव्यनिष्ठ बुहारीले अनेकौ झमेला खेप्दै सदरमुकामको प्रतिष्ठीत शैक्षिक संस्थाको नेतृत्व समाल्ने कुरा उनको परिवारको लागि मात्र नभएर हामी सबैको लागि गर्वको विषय थियो । सायद म जस्तै धेरै आमाहरुका आँसु बगे होलान । उनकी आमाका पनि !

महिला प्रअ भएर स्कुलको व्यवस्थापनमा के कति सुधार आयो । स्कुलको बार्षिक रिजल्ट कति प्रतिशतले बढ्यो । कति वटा भवनहरु थपिए । त्यस्ता कुरामा मेरो त्यती रुची छैन । तर महिला प्रअ देखेर तोते बोली बोल्ने हाम्रा नानीहरुको दिमागमा पर्ने असर र त्यसले समाजमा लामो समयसम्म पार्ने प्रभाव सम्झेर म हौसीएकी छु । खुसीले पनि त आँखा रसाउदा रहेछन । मेरो पुस्ताले त आमा घरको काम गर्नुहुन्छ । बाबा अफीस जानुहुन्छ भन्ने वाक्य घोकेर समय कटायौँ । अनि आजसम्म पनि संसारको जुन कुनामा पुगे पनि त्यही सोच दिमागमा राखी बसेका छौ । अर्थात घरको काम आमाको र कार्यालयको काम बाबाको मात्र हो भन्ने पुरातन मान्यता जीवित राखेका छौ ।

अव उनकी चञ्चले छोरी ग्रीष्मा मात्र होइन उनको प्रिय छात्र विजय पनि परम्परागत सोँचबाट बाहिर निस्कनेछन र भन्नेछन – आमा कार्यालय जानुहुन्छ । म्याडमले सरहरुलाई गतिलो पढाउन सिकाउनुहुन्छ । हाम्रो स्कुलको हेड टिचर त म्याम हुनुहुन्छ । त्यो दृश्यले विजय विनीता जस्ता सयौँ विद्यार्थीहरुको दिमागसगै,प रिवार र समाजमा ल्याउने लैङ्गिक समानता कति लोभलाग्दो होला ?म त्यसैको प्रतिक्षामा छु । नत्र भने सदरमुकाममा ठुलो व्यवसाय सम्हालेर बसेको उनको परिवारलाई उनले पाउने मासिक तलवले के मूल्य राख्दो हो ? पिङ्कीको आत्मसम्मान र सामाजिक प्रतिष्ठाको मूल्य भने अमुल्य छ है !

आजको शिक्षा सफल हुनु भनेको देश प्रगती तर्फ उन्मुख हुन हो । जसको लागि देशप्रेम नैतिकता र इमान्दारिताको बिउ बाल मस्तिष्कमा रोप्नु जरुरी छ । त्यो काम सबैभन्दा बढी विद्यालयका गुरुहरुले नै गर्छन भन्ने मेरो विश्वास छ ।

अहिले हाम्रा सरकारी विद्यालयहरु पठन पाठनको क्रियाकलापमा सक्रिय देखिन लागेका छन । बालमैत्री सिकाइ क्रियाकलापहरु बढी हुन थालेका छन । बालबालिकाको रुची र क्षमतालाई मध्यनजर राखेर शिक्षण सिकाइ क्रियाकलापहरु हुने गर्छन । शिक्षा विषय पढेकी विभिन्न विषमा तालिम लिएकी उनले नेतृत्व गरेको विद्यालयमा त्यस्ता गतिविधीहरु भएको मैले पनि मिडियामार्फत देख्ने र सुन्ने गरेकी छु ।

आजसम्म पनि हाम्रो बुझाइ राम्रो विद्यालय हुनको लागि विद्यार्थीले कति प्रतिशत अंक ल्याए, कति जना डिस्टिङ्सन लिएर पास भए, कतिले डक्टर, इन्जिनियरको इन्ट्रान्स पास गरे अथवा कतिले लोकसेवामा नाम निकाल्न सफल भए भन्ने विषयमा नै केन्द्रीत छ । त्यो पनि मानक हुदै होइन त भन्न मिल्दैन होला । तर खास कुरा उनीहरुमा देश समाज र परिवार प्रतिको जिम्मेवारी के कति छ ? उनीहरु कत्तिको नैतिकवान, चरित्रवान ,अनुशासित र कर्तव्यनिष्ठ छन भन्ने कुरा आजको दिनमा ठुलो चुनौति बनेको छ ।

हजारौ दक्ष प्राविधिक जनशक्ति देश बाहिर पलायन भएको छ । देशको प्रशाासन सम्हालेको कर्मचारीतन्त्र नियम कानून कसरी आफु अनुकूल बनाउने र रकम कुम्लाउने भन्ने पक्षमा देखिन्छ । राजनैतिक नेतृत्वमा पनि इमान्दारीताको खडेरी बाक्लै छ । सस्तो लोकप्रियताको लागि विधि प्रकृया बिर्सेर निर्णय गर्ने गरेको जताकतै देख्ने र सुन्ने गरिन्छ । यी सबैले हाम्रो शिक्षा प्रणाली भित्रका सफलताका मानकहरु कमजोर बनाएको हो की भन्ने मलाइ लाग्दछ । असल शिक्षाले मान्छेलाई कर्तव्यनिष्ठ, इमान्दार बनाउनै पर्छ । आफनो समाज र देशको लागि केही गरौ भन्ने भावनाको विकास गर्नै पर्छ । युरोप अमेरिक पुगेर नेपालमा केही भएन भनी सामाजिक संजालमा लामा लामा स्टाटस लेखेर त्यसको कुनै अर्थ छैन ।

आजको शिक्षा सफल हुनु भनेको देश प्रगती तर्फ उन्मुख हुन हो । जसको लागि देशप्रेम नैतिकता र इमान्दारिताको बिउ बाल मस्तिष्कमा रोप्नु जरुरी छ । त्यो काम सबैभन्दा बढी विद्यालयका गुरुहरुले नै गर्छन भन्ने मेरो विश्वास छ ।

एक छोराकी आमा म बालमनोविज्ञान राम्रो सग बुझेकी छु । गुरुहरु प्रतिको उसको विश्वास देखेर म पटक पटक चकित हुन्थेँ । उनीहरुले भनेका कुरा गलत नै भएपनि उ सजिलै विश्वास गरिहाल्थ्यो । त्यसैको फाइदा उठाएर असल कुराहरु पनि म उनीहरु मार्फत गराउथे । स्कुलका गुरुहरुको प्रभाव सधै उसको जीवनमा पर्नेछ र सत्मार्गमा डोहोर्याउने छ भन्ने विश्वास छ । बालबालिकाको दिमागमा परेको सकारात्मक प्रभावहरुमा विद्यालयको ठूलो हात रहेको म जस्ता धेरै आमाहरुको अनुभव छ । अझ म जस्तो केयरलेस र व्यस्त आमाको लागि त गुरुहरु थप सहयोगी भएका छन ।

पिङ्की र उनी जस्तै धेरै आमाहरुको व्यवस्थापनमा सञ्चालित विद्यालयले असल विद्यार्थी उत्पादन गर्नुपर्छ । जिपिए कति ल्याए भन्नुभन्दा पनि उनीहरुको आचरणमा कति व्यवहारिकता र देशप्रेम भेटिन्छ ? कति इमान्दार छन आफनो माटो प्रति ? कति विश्वस्त छन आफनो क्षमता प्रति ? कति सचेत छन समुदायको हित प्रति ? र कति जिम्मेवार छन आमा बुवा परिवार प्रति ? यी सबै चिजको मापनले नै उनहरुको जिपिए घटवढ हुुनेछ । यसैको आधारमा उनीहरु सफल र असफल मानिनेछन ।

सात कक्षा पढने स्कुल ड्रेस लगाएको बच्चाले चुरोट तानेको देखेर म हप्तौ निदाउन सकिनँ । उसको फोक्सोमा पर्ने नकारात्मक प्रभाव सम्झेर घण्टौ टोलाए । सायद उ कक्षाको टपर होला !

शिसु क्लासमा पढने सानो बच्चीले आमालाई बाटोमा फोहोर नफाल भनेको सुनेर संसार जितेको अनुभूति गरेँ । शिक्षा त साना साना कुरामा अल्झेको हुँदो रहेछ ठूलठूला शब्दकोषमा भन्दा । आमाहरुले सबैलाई आफनै बच्चा सम्झन्छन । जुनसुकै बच्चाको खुशीमा रमाउँछन भने दुःखमा आँसु झार्छन ।

केही वर्ष यता लोकसेवाले एकदम फेयर विधिको प्रयोग गरी लाखौँमा उत्कृष्ट छानेका अफिसरहरुसँगको सहकार्यमा छु । केहीलाइ छोडेर अधिकांश सम्मान गर्न लायक छैनन । जुनसुकै गलत धन्दा गरेर भएपनि पैसा कमाउने र मोजमस्ती गर्ने बाहेक अरु सोँच नै देख्दिनँ। त्यसैले हाम्रो शैक्षिक उत्पादन देखेर अलि चिन्तीत छु । समाधान के होला भनेर सोचीरहन्छु । कतै हाम्रो परम्परागत शिक्षा प्रणालीको प्रभाव होकी भन्ने पनि लाग्छ । गरिखाने भन्दा पनि ठगी खाने सोँच धेरैमा देखिन्छ । यो सोँच बदल्न हाम्रो नीति नियम कानून मात्रै परिवर्तन गरेर सम्भव छैन ।

बालबालिकाहरुको कलिलो मष्तिष्कमा देशपे्रम इमान्दारिता र लगनशिलताको बीउ रोप्नै पर्छ । यसको शुरुवात विद्यालयले साना–साना असल कामहरुको शुरुवात गरेर गर्न सक्दछ । पिङ्की जस्ता असल आमा शिक्षकहरुबाट हाम्रो अपेक्षा पनि त्यही हो ।

सीता भुसाल

भुसाल महिला अधिकारकर्मी हुनुहुन्छ ।

प्रतिक्रिया