बुधबार, साउन २०, २०७८

‘दुःखको साथी छिमेकी चीन’

कृष्ण केसी २०७८ असार २६ गते १२:१५

विश्वभरी फैलिएको कोरोना महामारीबाट विश्वका हरेक देश गम्भीर समस्यामा फसीरहेका छन् । यो महामारी नियन्त्रणका लागि विश्वका शक्ति राष्ट्रहरु बिच अनेकौ उपायका बारेमा प्रतिस्पर्धा चलिरहेको छ ।

हजारौँ अनुसन्धानका बिचबाट मानवजातीको जीवन रक्षाका लागि कोरोना विरुद्धको खोप पत्ता लागेकाले कोरोना नियन्त्रणका लागि विश्व समुदाय अहिले खोपको सहज उपलब्धताका लागि संघर्ष गरिरहेको छ । नेपाल जस्तो सानो र कमजोर राष्ट्र खोपका लागि संघर्ष गर्दा गर्दै कोरोना भाइरसको तेस्रो भेरियन्ट आउने खतरा देखिँदै छ ।

नेपाल जस्तो स्वास्थ्य पूर्वाधार कमजोर भएका राष्ट्रले तेस्रो भेरियन्ट आउनु अगावै आफ्ना जनतालाई सहजरुपमा खोप उपलब्ध गराएर उनीहरुको जीवन रक्षा गर्नु अहिले प्राथमिक दायित्व हो । नेपाल सरकारले यस बारेमा गम्भीर भएर खोपका लागि विभिन्न देशहरुसँग कूटनीतिक पहल गरिरहे नि चीनबाहेक अन्य देशहरुबाट खोप उपलब्ध हुन सकिरहेको छैन् ।

नेपालमा आउने हरेक मानवीय सङ्कट तथा विपतमा उत्तरी छिमेकी चीनले सहयोगी हात लिएर टुप्लुक्क उपस्थित हुने गर्दछ । मान्छेको जीवनमा जस्तै राष्ट्रको जीवनमा पनि विभिन्न सङ्कट आई लाग्छन् । त्यहि सङ्कटको बेलामा आफ्नो अर्को चिन्ने मौका मिल्दछ । उत्तरी छिमेकी चीन नेपाललाई आई लागेका सङ्कटहरु नाकाबन्दी, भूकम्प अथवा कोरोना महामारी नियन्त्रण सबै समस्यामा नि:सर्त सहयोग गरेर नेपाली जनताको दुःखको भरपर्दो (साथी) छिमेकीको रुपमा आफूलाई प्रस्तुत गरेको छ ।

सरकारको भूमिकाः कोरोना भाइरसको पहिलो भेरियन्टमा अलमल र अस्त व्यस्तताबाट सरकारले पाठ सिकेर दोस्रो भेरियन्टाका लागि सचेतपूर्वक तयारी गरेको भए थेग्नै नसक्ने गरी यति ठूलो क्षति र अस्त व्यस्तता हुने थिएन । परे पछि गरौँला भने जस्तो गरेर कुनै तयारी बिना स्वास्थ्य मन्त्रालयलगायत सरोकारवाला निकाय कानमा तेल हाले जस्तो गरी बसे । जस्का कारण दोस्रो भेरियन्टमा सम्पूर्ण स्वास्थ्य पूर्वाधार निकम्मा साबित हुन गयो ।

संक्रमित भएर अस्पताल जाँदा सामान्य बेड, आईसियू, अक्सिजन, भेण्टीलेटर लगायत आधारभूत स्वास्थ्य सामग्रीको अभाव देखियो । दुर दराजका जिल्लाहरुका स्वास्थ्य चौकी, अस्पतालहरुमा स्वास्थ्य कर्मीले माक्स, ग्लव्स पीपीईसमेत नपाउँदा आफैँ सङ्क्रमित भई कतिपयले ज्यान गुमाउन पुगे । स्वास्थ्यकर्मीले सामान्य माक्स समेत धोएर लाउन परेको समाचारले नेपालको स्वास्थ्य अवस्था र सरकारको तयारी कस्तो थियो भन्ने स्पष्ट हुन्छ ।

महामारीले विकराल रुप लिँदै जाँदा सरकारले परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनि लकडाउन र निशेधाज्ञा जारी गर्यो । निशेधाज्ञाका कारण संक्रमण फैलिन केही कमी आएपनि देशभरिको जनजीवन ठप्प भई आर्थिक कारोवारमा समेत गम्भीर प्रभाव पर्न गयो । तथापी लकडाउनलाई जनताले आफ्नै जीवन रक्षाका लागि हो भनि एक छाक खाएर कतिपय भोकै बसेर भएपनि साथ दिइरहे । संक्रमणदर क्रमिकरुपमा कमी आईरहेको अवस्थामा सरकारले यो महामारी नियन्त्रण र संभावित तेस्रो भरियन्टलाई ख्याल गरेर सरकारी संयन्त्रलाई प्रभावकारी ढङ्गबाट समन्वयात्मकढङ्गले परिचालन गर्दै खोप आपूर्तिका लागि विशेष कूटनीतिक पहल गर्नु आवश्यक छ ।

सरकारको कूटनीतिक प्रयासः कोरोना भाइरस नियन्त्रणका लागि सरकारले विश्व स्वास्थ्य संगठन लगायत चीन, भारत, अमेरिका, बेलायत जस्ता खोप उत्पादक राष्ट्रहरुसँग नेपाललाई सहयोगको लागि विशेष अपिल गरेको छ । सरकारले आफ्नो कूटनीतिक सक्रियता मार्फत खोपको लागि गरेको प्रयाससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले उत्तरी छिमेकी चीनका राष्ट्रपति सिजीङ फिङसँग प्रत्यक्ष टेलिफोन संवाद गरी खोपको लागि अनुरोध गरिन् ।

जस्काकारण चीनले नेपाललाई तत्काल १० लाख डोज खोप उपलब्ध गरिने निर्णय ग¥यो । पूर्वपरराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विश्वभरी रहेका नेपाली दुताबास कूटनीतिक नियोगमार्फत सम्बन्धित देशका सरकारलाई सहयोगका लागि अपिल गर्दै कयौँ छिमेकी देशका समकक्षीसँग प्रत्यक्ष टेलिफोन संवाद गरी सहयोगका लागि अपिल गरे । यसका साथै बेलायत, अमेरिका जस्ता नेपालका पूराना मित्र राष्ट्रहरुसँग ५०-५० लाख डोज खोप उपलब्ध गराउन सरकारले पत्राचार गरेको छ ।

यसैगरी सरकारले भारतको सेरम इन्स्टिच्यूटमार्फत २० लाख डोज खोप खरिदका लागि अग्रिम भुक्तानी ग¥यो । जस्मा १० लाख डोज उपलब्ध भई १० लाख डोज आउन बाँकी छ । भारतको खोप उत्पादक संस्था सेरम इन्स्टिच्यूटले सन २०२१ सम्म कुनै पनि राष्ट्रलाई खोप उपलब्ध गराउन नसक्ने सूचना जारी गरेपछि भारतबाट बाँकी १० लाख डोज खोप आउने सम्भावना छैन् ।

भारतले नेपाललाई शुरुमै १० लाख डोज खोप सहयोग स्वरुप उपलब्ध गराएको र भारतीय सेनाले नेपाली सेनालाई १ लाख डोज खोप उपलब्ध गराएको थियो । कोभ्याक्स अन्तर्गत नेपालले पाउने भनेको खोपको कुनै निश्चितता नभएपछि सरकारले उत्तरी छिमेकी तथा विश्वको ठूलो खोप उत्पादक देश चीनसँग थप ४० लाख डोज खोप खरिदका लागि प्रक्रिया अगाडी बढाएको छ । चीन सरकारले नेपाल सरकारको अनुरोधलाई स्वीकार गरेर खोप उपलब्ध गराउने आस्वासन दिएको छ । केही खोप केही दिनमा नै आउँदै छ । यसरी नेपाललाई कोभिड विरुद्धको भ्याक्सिन खरिदका लागि सबै भन्दा भरपर्दो देश उत्तरी छिमेकी चीन नै हो भन्ने कुरामा दुई मत हुन नसक्ला । अन्य देशबाट आउने कुरा अनिश्चित जस्तै छ ।

भरोसा चीनको छः हजारौँ वर्ष देखिको परम्परागत सम्बन्ध रहदै आएको नेपाल चीन बिचको सम्बन्ध सन १९५५ अगष्ट १ बाट कूटनीतिक सम्बन्ध कायम रहँदै आएको छ । चीनलाई नेपालले जहिले पनि असल मित्र, सहयोगी र भरपर्दो छिमेकीका रुपमा लिँदै आएको छ । चीनले जहिले नेपालमा शान्ति स्थिरता र विकास होस् भन्ने चाहना राख्दै छ ।

नेपालमा हुने अशान्ति अस्थिरताले चीनलाई समेत असर पर्ने भएकाले नेपालमा आई परेकाहरेक समस्यालाई चीनले नि:सर्त रुपमा सहयोग गर्दै आइरहेको छ । नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई सदा सम्मान गर्दै नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष हात नहालि शान्ति, स्थिरता र विकासका लागि आर्थिक, भौतिक सहयोग गर्दै आइरहेको छ । नेपालमा आई लाग्ने आपत विपत जस्तै भूकम्प, नाकाबन्दी, प्राकृतिक विपत्तीमा चीनले दुःखको साथी बनेर सहयोग गर्दै आइरहेको छ ।

चीनका राष्ट्रपति सिजीङ फिङले नेपालको ९औं गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाललाई बधाई तथा शुभकामना सन्देश पठाउँदै ‘‘चीन र नेपालको बढ्दो सम्बन्ध ओठ र दाँतको सम्बन्धको रुपमा रहेको’’ उल्लेख गर्दै सन्देशमा उनले नेपालको शान्ति, स्थिरता, विकासका लागि चीनले आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको उल्लेख गरेका चीनका राष्ट्रपतिले नेपालसँगको सम्बन्धलाई दाँत र ओठको जस्तो सम्बन्धको संज्ञा दिनुले नेपाल र चीनबिचको सम्बन्धको महत्वलाई दर्शाउँछ ।

नेपाल र चीन दुवै देशले आफ्ना साझा हितहरु र एक अर्काका सरोकारका विषयहरुलाई अन्तर्राष्ट्रिय तथा क्षत्रिय मञ्चहरुमा समानरुपमा प्रस्तुत गर्दै आइरहेकाले नेपालको समस्याप्रति चीन पूर्णरुपमा जानकार रहेको छ । गणतन्त्र स्थापना पछि नेपालमा आइलाग्ने हरेक समस्यामा चीन सक्रियरुपमा सहभागी हुँदै आइरहेको छ ।

दुई देशबिचको सम्बन्धलाई थप उचाइँमा पु¥याउनको लागि सन २०१६ मा दुवै देशले रणनीतिक साँझेदारी गर्ने सहमती गरी हस्ताक्षर समेत गरेका छन् । नेपालको कूटनीतिक इतिहासमा चीनसँगको रणनीतिक साँझेदारीले एउटा नँया आयाम थपिएको छ । चीनसँगको नेपालको यो ऐतिहासिक सम्बन्ध र चीनबाट प्राप्त गर्न सकिने अवसरबाट नेपालले फाइदा लिन सकेको छैन् । यसको प्रमुख कारण नेपालको राजनीतिक नेतृत्वको कमजोरी देखिन्छ ।

कोरोना महामारीको नियन्त्रणमा विभिन्न स्वास्थ्य सामग्री सहित भ्याक्सिनको लागि अन्य विभिन्न राष्ट्रहरुलाई अनुनय विनय गरेपनि नेपाल सरकारले चीन सरकारलाई नै पूर्ण विश्वासका साथ भर गरेर सहयोगका लागि अनुरोध गरेको भए नेपालले अहिलेसम्म भ्याक्सिनको समस्या आधा भन्दा बढी हल गरी सक्दथ्यो । भ्याक्सिनको लागि नेपालले अनुरोध गरेका देशहरुमध्ये चीन नै पहिलो देश हो जस्ले नेपालको समस्यालाई बुझेर भ्याक्सिन उपलब्ध गरायो र थप ४० लाख डोज भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

चीन विश्वको भ्याक्सिन उत्पादक राष्ट्रमध्यको एक प्रमुख राष्ट्र हो । उसले आफ्नो देशका एक अरव भन्दा बढी जनतालाई भ्याक्सिन लगाएर अन्य विश्व एसिया, अफ्रिका, दक्षिण अमेरिका, सहित यूरोपका इटाली, फ्रान्स, बेल्जियम, स्पेन नेदरल्यान्ड, पोल्यान्ड, सर्वीयालगायत ९८ भन्दा बढी देशलाई कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री, औषधी उपकरण सहित भ्याक्सिन उपलब्ध गराएर विश्व मानव समुदायको जीवन रक्षाको लागि महत्वपूर्ण र जिम्मेवार राष्ट्रको भूमिका निर्वाह गरेको छ ।

कोभिड नियन्त्रणका लागि विश्व स्तरमा चीनले खेलेको सक्रिय भूमिकालाई चीन विरोधीहरुले चीनिया प्रभावको विस्तारको रुपमा अर्थ लगाउने गरेका छन् । यसका वावजुद पनि चीनले अवलम्बन गरेको अन्तराष्ट्रवाद मानवियता र उत्तर दायित्वलाई अन्तर्राष्ट्रिय समुदायले उच्च मूल्याङ्कन गरेको छ ।

सन २०२० मार्चमा चीनले कोरोना भाइरस नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरी अगाडी बढ्न तयार रहेको कुरा चीनको काउन्सिलले पत्रकार सम्मेलन मार्फत सार्वजनिक अपिल ग¥यो । चीनको यो अपिललाई चीन विरोधी शक्ति राष्ट्रले अस्वीकार गरे । यसैगरी ‘‘सन २०२० जुलाईमा दक्षिण एसियाली राष्ट्रहरुबिच पहिलोपटक भर्चुवल मिटिङ्ग गरी कोरोना महामारी नियन्त्रणका लागि संयूक्त रुपमा लड्नका लागि चीनका विदेशमन्त्रीले प्रस्ताव गरे ।

उक्त मिटिङ्गमा भारत, भुटान, माल्दीप्स सहभागी भएनन् । तथापी चीनले दक्षिण एसियाली राष्ट्रहरुलाई आपतकालीन सहयोग गर्ने निर्णय ग¥यो । दक्षिण एसियाको ठूलो भ्याक्सिन उत्पादक राष्ट्र भारतले चीनले दक्षिण एसियाली राष्ट्रहरुमा गरेको आपतकालीन सहयोगलाई चीनिया प्रभावको रुपमा अर्थायाउने गरेको छ ।

भारत आफ्नै आन्तरिक समस्या समाधानमा फसेको हुनाले उसले अहिले भ्याक्सिन लिएर अन्तर्राष्ट्रिय रुपमा उपस्थित हुने अवस्था छैन् । तथापी भारतले आफ्ना छिमेकी देशहरु खासगरी सार्क राष्ट्रहरुसँग १५ मार्च २०२० मा जुम मिटिङ्ग गरी प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्ध संयूक्त रुपमा लड्नका लागि सार्कस्तरीय साझा कोभिड कोष निर्माण गर्ने निर्णय ग¥यो । यो निर्णय सँगै भारत आफैले उत्पादन गरेको सेरम कम्पनीको भ्याक्सिन १५ जनवरी २०२१ बाट सार्क राष्ट्रलाई सहयोग स्वरुप उपलब्ध गराउन शुरु ग¥यो ।

छिमेकीलाई सान्त्वना स्वरुप कूटनीतिक रुपमा भ्याक्सिन दिइएपनि भारतले चीन सँगको प्रतिष्पर्दाकै कारण भ्याक्सिन उपलब्ध गराएको हो भने प्रशस्तआधारहरु छन् । कोरोना भाइरस नियन्त्रणको नाममा दक्षिण एसियाली राष्ट्रहरुमा चीनिया उपस्थितिलाई भारतले सहज रुपमा लिन सकिरहेको देखिँदैन ।

तथापी यसलाई रोक्न सक्ने भारतसँग तत्काल कुनै उपाय छैन् । किनभने कोरोना नियन्त्रणका लागि चीनले उत्पादन गरेको सीनो फार्म भ्याक्सिन विश्व बजारमा पुग्न सफल भइसकेको छ । विश्व स्वास्थ्य संगठन लगायत विश्वका धेरै देशहरुमा चीन कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री र भ्याक्सिन सहित उपस्थित भइसकेको छ ।

यसलाई चीन विरोधी शक्ति राष्ट्रहरुले चीनिया प्रभावको विस्तारको रुपमा अर्थ लगाउने गरेका छन् । दक्षिण एसियामा भ्याक्सिन कूटनीतिमा चीन र भारतको प्रतिष्पर्धा भएपनि नेपालले भ्याक्सिन खरिदका लागि चीनसँग भर पर्नको अर्को उपाय छैन् । भारतबाट खोप खरिद गर्न अग्रीम भुक्तानी गर्दा समेत भारतले खोप उपलब्ध गराउन नसक्ने भएकाले नेपाल चीनसँग भर पर्नुको विकल्प छैन् ।

कोरोना पछि पनि चीनः विश्वभरी फैलिएको कोरोना महामारीका कारण विश्वको अर्थतन्त्रमा गम्भीर असर परेको छ । नेपाल जस्तो सानो निर्वाहमुखी कमजोर अर्थतन्त्र भएको मुलुकको आर्थिक अवस्थामा कोरोनाका कारण चौपट हुने अवस्था छ । कोरोनाका कारण बेरोजगारी बढ्ने, साना व्यवसायहरु धरासायी हुने, सामाजिक रुपमा विसङ्गतिहरु बढ्ने, राजनीतिक अस्थीरता सृजना हुने खतरा देखिँदै छ । यस्तो जटिल अवस्थाबाट प्रतिकुललाई गतिसिल बनाउनको लागि सर्वप्रथम आर्थिक अवस्थालाई चलायमान बनाउनुको विकल्प छैन् । यसका लागि नेपाल जस्ता विकासोन्मुख गरीब राष्ट्रका लागि सबैभन्दा महत्वपूर्ण श्रोत भनेको वैदेशिक सहायता नै हो ।

लामो समयदेखि वैदेशिक सहायतामा भर पर्दै आएको नेपालको अर्थतन्त्र कोरोनाको विश्वव्यापी महामारीका कारण वैदेशिक सहायतामा कमी आउँना साथ गम्भीर असर पर्ने भएकाले नेपाललाई सहयोग गर्दै आएका अमेरिका, जापान, चीन, भारत, जर्मन, बेलायत, डेनमार्क, स्वीजरल्यान्ड, एसियाली विकास बैंक, विश्व बैंक, संयूक्त राष्ट्रसंघीय कार्यक्रम, आइएमइ लगायतका दाताहरुको आर्थिक सहयोगमा कमी आउँदा धेरै आयोजना र कार्यक्रमहरु प्रभावित हुने निश्चित छ । यस प्रकारका सम्भावनालाई ध्यानमा राखेर सरकारले बेलैमा भरपर्दो दाता राष्ट्रहरुसँगको सम्बन्ध र सहकार्यलाई उच्च स्तरबाट थप गतिसिल बनाउन आवश्यक देखिन्छ ।  नेपालको लागि यस प्रकारको भरपर्दो दाता राष्ट्रहरुमध्ये चीन प्रमुख राष्ट्र हो । चीन र नेपालबिच १९५६ र १९६० मा आर्थिक सहायताको लागि दुई पक्षीय सम्झौता भएको थियो । यो सम्झौतासँगै चीनले नेपाललाई निरन्तर रुपमा आर्थिक, प्राविधिक सहयोग गर्दै आइरहेको छ ।

चीनले हालै आफ्नो चौधौ पञ्चवर्षिय योजना निर्माण गर्दै विकास रणनीति सार्वजनिक गरेको छ । कोभिडका कारण अर्थतन्त्रमा परेको गम्भीर असरलाई ध्यानमा राखेर आन्तरिक अर्थतन्त्रको सुदृढीकरण र बाह्य देशसँगको साझेदारीलाई सँगसँगै अगाडी बढाउने नयाँ विकास रणनीति तयार पारेको चीनले वि.आर.आइ अन्तर्गतका आयोजनाहरुलाई गति दिने बताएको छ । चीनको यो विकास रणनीति अनुसार वि.आर.आइको सदस्य राष्ट्र नेपालले चीन सरकारबाट फाइदा लिने महत्वपूर्ण अवसर हो । तर वि.आर.आइ परियोजना अन्तर्गत नेपालले आयोजनाहरु ठोस गरी चीनसँग भौतिक पूवाधार, उद्योग, स्वास्थ्य, शिक्षा, कनेक्टीभिटी, लगायतका क्षेत्रमा चीनिया लगानी भित्र्याई कोभिडपछिको अर्थतन्त्रलाई चलायमान बनाउन सक्दछ । कोभिडपछिको अर्थतन्त्रलाई गतिसिल बनाउन विश्वका विकासोन्मुख राष्ट्रहरुले चीनसँगको सहकार्यमा जोड दिइरहेको पाइन्छ ।

दक्षिण एसियाली राष्ट्र पाकिस्तान, श्रीलङ्का, बङ्लादेश लगायतका राष्ट्रहरु चीनसँगको सहकार्यलाई रणनीतिक रुपमा अगाडी बढाइरहेको अवस्थामा चीनसँग पुरानो सम्बन्ध रहदै आएको नेपाल जस्तो राष्ट्र वि.आर.आइ समेतको सदस्य रहेको यसले चीनको आर्थिक सहायता सम्बन्धी नयाँ विकास रणनीतिबाट फाइदा लिन सक्यो भने कोभिडपछिको अर्थतन्त्रलाई चलायमान बनाउन चीनिया सहायता अपरिहार्य छ । त्यसका लागि चीनसँगको सहकार्यलाई थप गतिसिल र विश्वासिलो बनाउन आवश्यक छ ।

चीनले निरन्तर रुपमा नेपाललाई सहयोग गर्दै आइरहेको छ । नेपालको आन्तरिक मामिलाबाट टाढा रहदै नेपालको सार्वभौमसत्ता र अखण्डतालाई सम्मान गर्दै आएको चीन नेपाललाई आपत विपत आइ लाग्दा सहयोगी हातसहित टुप्लुक्क आईपुग्ने दुःख सुखको साथी रहदै आएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइसर महामारीलाई आफ्नो आफ्नो देशमा पूर्णरुपमा नियन्त्रण गरी विश्वव्यापी रुपमा मानव समुदालाई कोरोनाबाट बचाउन सक्रिय भूमिका निर्वाह गरिरहेको चीनले यतिबेला चीनिया कम्युनिष्ट पार्टीको सन १९२१ मा स्थापना भई सय वर्ष पूरा गरेको उपलक्ष्यमा विश्वलाई नै चकित पार्ने गरी राजधानी बेइजिङ्गमा विशाल जनताको उपस्थितिमा भव्य समारोह गर्न सफल भएको छ । कोरोनालाई पूर्ण रुपमा नियन्त्रणमा लिएको चीनले विना भयत्रास गरेको विशाल समारोहलाई राष्ट्रपति सि चीनफिङले संबोधन गर्दै समाजवादले मात्र चीनलाई बचाउने उद्घोषाना गरेका थिए ।

सन १९४९ मा चीनिया कम्युनिष्ट पार्टीले अध्यक्ष माओ सेत्जङको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न गरेको थियो । क्रान्तिसँगै निरन्तर रुपमा कम्युनिष्ट पार्टीले १०२ वर्ष सासन सञ्चालन गर्दै आएको छ ।

विश्वको सबै भन्दा ठूलो सत्तारुढ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ मोडेल सहितको समाजवादी शासन व्यवस्थाको सफल प्रयोग र त्यसको जगमा चीनले विकास र सम्वृद्धिको उचाइँ हासिल गरेको छ । आर्थिक, राजनीतिक, सामाजिक, भौतिक, प्राविधिक विकाससँगै सन २०३० सम्म विश्वको महाशक्ति राष्ट्र बन्ने सपना देखेको चीन विश्वको उदाउँदो शक्ति राष्ट्रको रुपमा अगाडी बढेको छ ।

यसका पछाडि चीनिया कम्युनिष्ट पार्टी र यसले लिएको वैज्ञानिक नीतिलाई प्रमुख आधार मान्न सकिन्छ । विश्वमा चीनमा जनवादी क्रान्ति सम्पन्न भएको ६ वर्षपछि सन १९५५ अगष्ट १ गते चीन र नेपाल बिच औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना हुन गएको हो । औपचारिक सम्बन्धको सुरुवातसँगै नेपाल र चीनबिच असल छिमेकीको रुपमा सम्बन्ध रहदै आएको छ ।

प्रतिक्रिया