बुधबार, साउन २०, २०७८

लाखुमण्डली

डी. चीरञ्जीवि २०७८ साउन ६ गते १०:४५

मदारी बालुवाटार हुँदा हाैसिएका बाँदरहरूकाे तन्दुरुस्ती साह्रै गजबकाे थियाे । बालुवाटारकाे रुखबाट हाम फालेर फुत्त शीतलनिवासकाे रुखमा पुग्थे ।

यताकाे मदारीले स्याउ, उताका मदारीले आँप केरा । जता आँप केरा उतै लाखु-ढेडूकाे डेरा । जिन्दगी बडा गजबले बितिरहेकाे थियाे ।

पशुपतिमा वानरहरूले हालीमुहाली गरेझैँ, अख्तियारमा ढेडू, आयाेगहरूमा ढेडू, डिन कार्यालयमा ढेडू, उल्टै ढेडू, पल्टै ढेडू । सर्वम् ढेडूमयम् जगत् भइसकेको थियाे ।

मदारी डमरू बजाउँथे । ढेडूहरू घुँघरू बाँधेर जहाँ भन्याे त्यहीँ नाचिदिन्थे । धिनतक थै थै धिनतक थै ! बडा गजबले ताल निकाल्थे ।

अचानक,
ढेडूराज्यमा अनिकाल पस्याे । परमादेश नामकाे बन्चराेले मदारीहरू रूखसहित साेत्तर परे । काठमाडौंका मदारी भागेर भक्तपुर पुगे । शीतलनिवासमा प्रचण्ड खडेरी परेर फलफूलका रुखहरू सुके । जता पुगे पनि हातकाे डमरू त साथमै थियाे । बार्दलीमा चढेर मदारीले डमरू घन्काउन लागे ।

भक्तपुरमा बजेकाे डमरुकाे खटखट आवाज काठमाडौंसम्म गुन्जियाे । भाेकले क्याऊ परेका लाखुहरू काेखा चर्किनेगरी फलफूल खान पाउँला भनेर काठमाडौंका राेडमा नाच्न थाले ।

आँफू साक्षात् ढेडू भएकाले सडकमा नाचेर रमिता देखाएका हुन् कि, नेपाली जनतालाई पनि ढेडू बन्‍नुपर्ने सन्देश दिएका हुन् कि ? उनै जानून् ।

जे हाेस्, भाेकले क्याऊ परेका लाखूहरूकाे नचाई बडो कारुणिक देखियाे ।

डी. चीरञ्जीवि

डी. चीरञ्जीवि ज्योतिन्यूजमा समसामयिक विषयमा व्यंग्य प्रस्तुत गर्छन ।

प्रतिक्रिया