बुधबार, साउन २०, २०७८

गोर्खालीहरुले बेलायती प्रधानमन्त्री कार्यालय अघि रिले अनशन शुरू गर्दै

ज्योतिन्यूज २०७८ साउन ६ गते १४:५९

लण्डन । बेलायतमा लामो समयदेखि विभिन्न मागहरु राख्दै आन्दोलनमा रहेको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले बुधबार दिउँसोदेखि प्रधानमन्त्री कार्यालय अघि रिले अनशन शुरू गर्ने भएको छ ।

ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुको समान पेन्सन लगायतका मागहरुलाई सम्बोधन गर्न नेपाल तथा ब्रिटिश सरकारबीच एक वार्ता समिति गठन गर्न, वार्ता स्थल तोक्न तथा वार्ता समेत शुरु गर्न माग गर्दै आन्दोलनमा होमिएका उनीहरुले जुलाई १ बाटै अनशन शुरू गर्ने भनेका थिए । तर नेपाल सरकारले वार्ताको पहल गर्ने पत्र पठाएपछि उनीहरुले उक्त दिन लण्डनमा प्रदर्शन गर्दै जुलाई २१ अर्थात आजकै दिनबाट भोक हड्ताल थाल्ने चेतावनी दिएका थिए ।

सोही अनुसार सत्याग्रह समितिका ज्ञानराज राई, धन गुरुङ र पुष्पा राणा घले आज एक बजेबाट प्रधानमन्त्री कार्यालय अघि भोक हड्तालको औपचारिक सुरुवात गर्दैछन् ।

समितिका प्रमुख संयोजक कृष्णबहादुर राईका अनुसार सुरुमा १३ जना भिसीको नाममा १३ दिने रिले अनशन र त्यसपछि भोक हड्ताल गरिने तयारी छ । अबको आन्दोलन निर्णायक हुने दाबी गर्दै आएका उनीहरुले पटक पटक लण्डनमा प्रदर्शन गर्दै आएका छन् ।

गोर्खा सत्याग्रह अभियानका मुख्य संयोजक कृष्ण बहादुर राई ब्रिटिश सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिध हरु सम्मिलित संयुक्त प्राविधिक रिपोर्ट दुई सरकारहरुलाई बुझाइएको तीन वर्ष पुरा भै सकेको तर अहिले सम्म त्यसलाइ सम्बोधन नगरिएको भन्दै पटकपटक ध्यानाकर्षण गराएपनि सरकारले नसुनेको बताए ।

‘यो हाम्रो बाध्यता हो, यसपटकको आन्दोलन निर्णायक हुन्छ, हामी पछि हट्नेवाला छैनौँ,’ उनले भने ।

प्रतिक्रिया