बुधबार, साउन २०, २०७८

गण्डकीमा रोकिएको मन्त्रिपरिषद् विस्तार आज हुने

ज्योतिन्यूज २०७८ साउन ७ गते १०:१८

पोखरा । गत असार २९ गते सरकार बनेपछि रोकिएको मन्त्रिपरिषद् विस्तार आज हुने भएको छ । सत्ता साझेदार दल कांग्रेस र माओवादीबीच आज साँझसम्म सरकारलाई पूर्णता दिने सहमति भएको हो ।

बुधबार नै भागबण्डा मिलाउने भनिएपनि दुवै पक्षको अडानले बिहीबारका लागि सरेको हो । ११ वटा मन्त्रालय रहेको गण्डकीमा ६ जना मन्त्री नियुक्त गर्न बाँकी छ । बाँकी मन्त्रीहरु माओवादी र कांग्रेसबाट नियुक्त गर्न लागिएको हो । तर मन्त्रालय भने अझै छिनोफानो भएको छैन ।

आजै साँझसम्म मन्त्रालयको जिम्मेवारी सहित मन्त्रीमण्डल विस्तार हुने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभयो ।

यसैका लागि मुख्यमन्त्रीको टोली कांग्रेस सभापति तथा प्रधामन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किएका छन् । बजेट पास भएपछि मन्त्रिमण्डल विस्तार गर्ने यसअघिकै प्रतिवद्धता अनुसार बजेट मार्सल लगाएर पास गरिएको छ । एक महिनासम्म पनि सरकारलाई पूर्णता दिन नसक्दा आलोचना बढ्न थालेको छ ।

नयाँ मन्त्रीहरुको नाम पनि बिहीबार दिउँसोसम्म टुंग्याउने दलहरुले बताएका छन् । अब तीनवटा मन्त्रालय पाउने माओवादीले दलका उपनेता रामजी बरालको नेतृत्वमा सरकारमा सहभागी हुने छ ।

बागलुङका चन्द्रबहादुर बुढा र स्याङजाका दीपक चर्ति मगर मन्त्री बन्ने पक्का जस्तै छ । माओवादीबाट यसअघि नै मधुमाया अधिकारी मन्त्री बनिसकेकी छिन् । उनको समेत कार्य जिम्मेवारी हेरफेर हुन सक्ने बताईएको छ । यद्यपि दीपक कोइराला, आशा कोइराला लगायत सांसदहरुको पनि नाम चर्चामा छ ।

पुर्व सहमति अनुसार कांग्रेसले दुईवटा मात्रै मन्त्री पाउँछ । अहिले जसपालाई छोडेर गए तीनवटा मन्त्रालय अझै कांग्रेसको भागमा छ । स्याङजाबाट मेखलाल श्रेष्ठ, तनहुँका दोबाटे विश्वकर्मा र बागलुङका मणिभद्र शर्मा मन्त्री बन्ने अधिक सम्भावना छ ।

कास्कीका विन्दुकुमार थापा र स्याङजाकै भागवत प्रकाश मल्लको नाम पनि चर्चामा छ । महिला सांसदहरुले कम्तिमा एकजना महिला मन्त्री हुनुपर्ने माग राखेका छन् ।

गोरखाकी मनकुमारी गुरुङ र पर्वतकी ललितकला गुरुङ मन्त्री बन्नका लागि दौडधुप गरिरहेका छन् । पुर्व सहमति कार्यान्वयन भए जसपाकी धनमाया लामा पोखरेल मन्त्री बन्ने पक्का छ ।

प्रतिक्रिया