सोमबार, असोज ४, २०७८

अग्रज पत्रकार तिलक आचार्यको निधन

ज्योतिन्यूज २०७८ साउन १५ गते १८:३३

गण्डकी । नेपाल पत्रकार महासङ्घ कास्की शाखाका संस्थापक सदस्य तथा अग्रज पत्रकार तिलक आचार्यको ८२ वर्षको उमेरमा आज निधन भएको छ । विसं १९९५ चैतमा पर्वतको विहादीमा जन्मनुभएका अग्रज पत्रकार आचार्य केही समय अगाडिदेखि मधुमेह, उच्च रक्तचाप र जन्डिस रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको बिहीबार छोरेपाटनस्थित आफ्नै निवासमा निधन भएको हो । स्व आचार्यका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

अग्रज पत्रकार आचार्य पाँच दशकभन्दा लामो समयसम्म सक्रिय पत्रकारितामा रहिरहनुभयो । उहाँसहित पोखराका अन्य बुद्धिजीवीसमेत मिलेर ‘नौलो डाँको’ साप्ताहिक सञ्चालन गर्नुभएको थियो । उहाँ तत्कालीन क्षेत्रीय अदालत बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्तासमेत हुनुहुन्थ्यो ।

वाम बुद्धिजीवी स्व आचार्य देशमा परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागी रहनुभयो । निडर र सधैँ अग्रगमनको पक्षमा लाग्नु हुने अग्रज पत्रकार आचार्यको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अभिभावक गुमाएको छ । उहाँको आजै सेतीनदीस्थित रामघाटमा अन्तिम दाहसंस्कार गरिएको थियो ।

पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले आज एक शोक विज्ञप्ति प्रकाशित गर्दै यस दुःखद् घडीमा स्व आचार्य प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना एवं शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया