सोमबार, असोज ११, २०७८

माओवादीले ६ मन्त्रालय पाउने, टुङ्गियो ४ जना मन्त्रीको नाम

ज्योतिन्यूज २०७८ भदौ ६ गते १७:५४
तस्वीरः केही दिन अघि सम्पन्न माओवादीको केन्द्रीय समिति बैठक

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा जाने भएसँगै नेकपा माओवादी केन्द्रले ६ वटा मात्रै मन्त्रालय पाउने भएको छ ।

यसअघि सात अथवा ८ मन्त्रालय पाउने भनिएपनि माधव कुमार नेपाल नेतृत्वको नयाँ पार्टीलाई स्थान दिनुपर्ने भएको हुँदा ६ मन्त्रालय मात्रै माओवादीलाई दिइने भएको हो ।

त्यस्तै, नेपाली काँग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्रालय पाउने भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र बराबरकै हैसियत पाउने भएको हो ।

माओवादी सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो पनि लगाएको छ । माओवादीबाट देवेन्द्र पौडेलले सरकारको नेतृत्व गर्ने भएका छन् ।

उनीसहित पूर्वबाट सुदन किराती, मद्येसबाट शिवकुमार मंडल, दलितबाट महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् । उनीहरु बाहेक नारायणकाजी श्रेष्ठ, शशी श्रेष्ठ, रामनारायण विडारीले पनि मन्त्रीका लागि दौडधूप गरिरहेका छन् ।

तर पहिलो चरणका लागि उनीहरु नै मन्त्री बन्ने माओवादी निकट श्रोतका भनाई छ । तर तत्कालै मन्त्री नियुक्त भने नहुने भएको छ ।

निर्वाचन आयोगमा पार्टी दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।

यसअघि नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त कुरा जानकारी गराएका थिए । भदौ ९ मा निर्वाचन आयोगले दुवै नयाँ पार्टीहरुको सनाखत गर्नेछ । त्यसपछि दल दर्ताको प्रमाणपत्र आएसँगै मन्त्रिमण्डलले पूर्णता पाउने भएको छ ।

प्रतिक्रिया