सोमबार, असोज ४, २०७८

दल विभाजन सम्बन्धि अध्यादेश विरुद्धको रिटमा सुनुवाइ हुँदै

ज्योतिन्यूज २०७८ भदौ ११ गते १०:५०

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका ६ थान रिट निवेदनमाथि आज सवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।

भदौ ३ गते दर्ता भएका निवेदनको पेसी आजका लागि तोकिएको थियो । अध्यादेश बदर माग गर्दै निवेदन दर्ता गर्नेमा अधिवक्ता अर्जुनकुमार अर्याल र शकुन्तला भुसाल, अधिवक्ता निकेशकुमार लम्साल र अनुपा अर्याल, अधिवक्ता प्रवेश केसी, अधिवक्ता श्रीकान्त बराल, अधिवक्ता दलबहादुर धामी, सरोज बुढाथोकी र आशिष श्रेष्ठ रहेका छन् ।

निवेदनहरुमा सरकारले जारी गरेको अध्यादेश गैरसंवैधानिक भएकाले तत्काल रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरिएको छ ।

संघीय संसद्को अधिवेशन अन्त्य गरेको भोलिपल्टै अध्यादेश ल्याउनु र राजनीतिक दल विभाजन गर्ने उद्देश्य राख्नुले अध्यादेश ल्याउने संविधानको व्यवस्थाको दुरुपयोग भएको रिटमा उल्लेख छ ।

यस्ता अध्यादेशले दूरगामी असर पार्ने भएकाले सर्वोच्चले संविधानको रक्षाका लागि रोक्नुपर्ने जिकिर रिटमा गरिएको छ ।

बिहीवार सम्पन्न एमाले वैठकले पनि अध्यादेशविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ । उक्त निर्णय अनुसार सम्भव भए आजै नत्र आइतवारसम्म रिट दायर गर्ने तयारी एमालेको छ ।

प्रतिक्रिया