सोमबार, असोज ११, २०७८

८ महिनापछि संवैधानिक परिषद सम्बन्धी अध्यादेश मुद्धाको सुनुवाई हुँदै

ज्योतिन्यूज २०७८ भदौ ११ गते ११:४३

काठमाडौं । तत्कालीन ओली सरकारले गत मंसिरमा ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरुद्ध दर्ता भएका रिटहरुमाथि सुनुवाई आज हुँदैछ ।

अध्यादेशविरुद्ध दर्ता भएका करिव आधा दर्जन निवेदनहरु सुनुवाइका लागि पालोमा परेका हुन् । अधिवक्ता ओमप्रकाश अर्यालले दर्ता गरेको निवेदन तेस्रो क्रममा छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई समेत विपक्षी बनाइएको रिट शुक्रबार पेसीमा चढेको हो। संवैधानिक इजलासमा राणासहित, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएको छ।

संवैधानिक इजलासमा संवैधानिक परिषद् अध्यादेशसम्बन्धी नौ थान मुद्दा छन्। उक्त अध्यादेशविरुद्ध पहिलो रिट १ पुसमा दायर भएको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषद् समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

रिटको संवैधानिक इजलासमा सुनुवाइ हुनुपर्नेमा ४५ दिनसम्म पहिलो सुनुवाइ नै भएन। सुनुवाइ नहुँदै सिफारिस भएका पदाधिकारीले नियुक्ति पाए।

त्यस्तै समृत खरेल, कृतिनाथ शर्मालगायतले पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दा संविधानसँग बाझिएको दाबी गर्दै रिट दायर गरेका थिए।

विपक्षी दलका नेता र सभामुखको उपस्थितिबिना नै अख्तियार,निर्वाचन आयोयलगायतका संवैधानिक निकायमा नियुक्ति भएको थियो । उक्त अध्यादेश यसअघि नै शेरबहादुर देउवा सरकारले खारेज गरिसकेको छ ।

प्रतिक्रिया