सोमबार, असोज ४, २०७८

जलजला गाउँपालिकाका गाईभैंसीलाई पोषण भत्ता

ज्योतिन्यूज २०७८ भदौ ११ गते १४:३१

म्याग्दी- पर्वतको जलजला गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी गाईभैसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बनेको छ । कृत्रिम गर्भाधानको माध्यमबाट गाईभैसीको नश्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको हो । 

गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दिपक श्रेष्ठले कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढाएर पाडापाडी र बाच्छाबाच्छी पाल्नेलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम सञ्चालन सञ्चालन गरेको बताए । ‘कृत्रिम गर्भाधान गराएका गाईभैसीबाट जन्मिएका पाडापाडी र बाच्छाबाच्छी चार महिना पालेपछि मात्र अनुदान दिने गरिएको छ,’ उनले भने, ‘जसले गर्दा किसानले उन्नत जातका पाडापाडी र बाच्छाबाच्छी पाल्न थालेका छन् ।’ विशेष गरेर जन्मिनेवित्तिकै भैसीका पाडापाडी कटाउने (नपाल्ने) चलन घटाएर संरक्षण गर्न कार्यक्रम प्रभावकारी देखिएको पशु सेवा प्राविधिक श्रेष्ठले बताए । 

गत आर्थिक वर्ष ०७७/७८ मा ७२ जना किसानलाई पाडापाडी र बाच्छाबाच्छी हुर्काएबापत पोषण भत्तास्वरूप दुई हजार पाँच सयका दरले कुल एक लाख ८० हजार रुपैयाँ वितरण गरेको शाखाले जनाएको छ ।

जनप्रतिनिधि र पशु सेवा प्राविधिकले बाच्छाबाच्छी र पाडापाडीको अनुगमन गरेर अनुदान उपलब्ध गराउने कार्यविधि छ । नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमका अलावा उन्नत जातको राँगो, साँढे र बोकासमेत वितरण गरेको छ । 

आठवटा समूहलाई राँगो खरिद गर्न तीस हजार रुपैयाँका दरले अनुदान दिएको छ । २० जना किसानले गोठ सुधार गर्न २५ हजार रुपैयाँका दरले अनुदान पाएका छन् । १० जना किसानलाई घाँस टुक्रा पार्ने च्यापकटर खरिद गर्न २० हजार रुपैयाँका दरले अनुदान वितरण गरेको छ । 

पालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउन बाख्रा, गाईभैसी र कुखुरापालनको पकेट क्षेत्र बनाएर कार्यक्रम सञ्चालन गरेको छ । उत्पादन लागत घटाउन घाँसमा आधारित पशुपालनका लागि बहुबर्षे डाले र भुइँघाँस खेती विस्तारका लागि बीउ र बिरुवा वितरण गरेको छ । 

वार्षिक १९ लाख ५२ हजार ३१४ लिटर दूध आवश्यक पर्ने जलजला गाउँपालिका दूधमा आत्मनिर्भर बनेर निकासी गर्ने अवस्थामा छ । वार्षिक २७ लाख ६३ हजार १५० लिटर दूध उत्पादन हुने जलजलाबाट आठ लाख दश हजार ८३६ लिटर दूध निकासी हुन्छ । 

वार्षिक तीन लाख ३५६ किलोग्राम मासु आवश्यक पर्नेमा एक लाख ७१ हजार ५३ किलोग्राम र दश लाख २९ हजार ७९२ गोटा अण्डा आवश्यक पर्नेमा ६ लाख ५७ हजार २८० वटा उत्पादन हुने गरेको जलजलाको पशु सेवा शाखाले जनाएको छ ।    

प्रतिक्रिया