सोमबार, असोज ११, २०७८

विपदमा परेकाको उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

ज्योतिन्यूज २०७८ भदौ १२ गते ९:३८

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद् घटनाका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई तत्काल राहत उपलब्ध गराउन, घाइतेको उपचारको व्यवस्था मिलाउन र घरवार विहीन भएकाहरुलाई सुरक्षित स्थानमा राखि क्षति भएका आवासको पुनर्निर्माणको प्रक्रिया आरम्भ गर्न निर्देशन दिएका छन्।

शुक्रबार बसेको विपद् व्यवस्थापनसँग सम्बन्धित गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सडक विभाग, जलस्रोत तथा सिंचाई विभाग, खानी तथा भूगर्भ विभाग, खानेपानी तथा ढल व्यवस्थापन विभाग लगायतका निकायका प्रतिनिधिहरु सम्मिलित वैठकमा गृहमन्त्री खाँणले मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्य, पीडित परिवारलाई राहत, घाइतेहरुको उपचार र क्षति भएका भौतिक संरचनारपूर्वाधारहरुको पुनर्निर्माण पुनर्स्थापनाका लागि निर्देशन दिएका हुन्।

बैठकमा मन्त्रालय, सुरक्षा निकाय तथा अन्य निकायका प्रतिनिधिहरुबाट हालैका दिनमा मनसुनजन्य विपद् (वाढी, पहिरो र डुवान) बाट भएको क्षति, खोज तथा उद्दार र पुनर्निर्माण र पुनर्स्थापनाका लागि भएका प्रयासहरुबारे जानकारी गराएको गृहमन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

विगत २ दिनको अविरल वर्षाका कारण डुवान भई कञ्चनपुर, कैलाली, दाङ, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), चितवन, महोत्तरी लगायतका जिल्लाहरुमा करिव ४०० (चार सय) जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

प्रतिक्रिया