सोमबार, असोज ११, २०७८

सप्तकोशीमा पानीको बहाव विस्तारै घट्दै, सतर्क रहन आग्रह

ज्योतिन्यूज २०७८ भदौ १२ गते १०:३९

काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव विस्तारै घट्न थालेको छ । उत्तरी पहाडी जिल्लासहित तराईका विभिन्न जिल्लामा विगत तीन–चार दिनदेखि लागातार परेको वर्षाका कारण कोशीमा पानीको बहाव बढ्दै गएको थियो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चाका अनुसार आज बिहान ६ बजे सप्तकोशीमा पानीको बहाव १ लाख ९६ हजार २५ क्यूसेक मापन गरिएको थियो ।

गयरातिसम्म पानीको बहाव १ लाख ९८ हजार २ सय १५ प्रतिसेकेन्ड क्यूसेक मापन गरिएको थियो । आज बिहान ४ बजेबाट पानीको बहाव विस्तारै घट्दै गएको छ ।

प्रमुख जिल्ला अधिकारी आचार्यले हाल कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले २६ वटा ढोका खुल्ला गरिएको जानकारी दिनुभयो । पानीको बहाव घटबढ भइरहेकाले कुन ढोका खोल्दा उचित हुन्छ भन्ने विषयमा अनुगमन गरेर ढोका खोल्ने र बन्द गर्ने गरिएको पनि उहाँले बताउनुभयो ।

कोशी ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ भने सप्तरी जिल्लाको तटबन्ध आसपासमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया