सोमबार, असोज ११, २०७८

एमाले र जसपाका जनप्रतिनिधिले २२ भदौसम्म दल छानिसक्नुपर्ने (विज्ञप्तिसहित)

ज्योतिन्यूज २०७८ भदौ १३ गते १६:१२

काठमाडौं – निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई २२ भदौसम्मको समयसीमा निर्धारण गरेको छ ।

आइतबार आयोगले विज्ञप्ति निकाल्दै हालै गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहनेलाई २२ भदौ साँझ ५ बजेसम्मको समयसीमा तोकेको हो ।

नवगठित एकीकृत समाजवादी र लोसपामा जान चाहने प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलाई राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशअनुसार आयोगले समय निर्धारण गरेको हो ।

अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिलाई २१ दिनभित्र दल रोज्न दिने व्यवस्था समेत छ । आयोगको आइतबार बसेको बैठकले २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको हो ।

प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्छ । यसका लागि सक्कल नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा÷स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालयले प्रदेश सभा तथा स्थानीय तहका सदस्यको सनाखत गराउँदा छुट्टाछुट्टै स्थानमा छुट्टाछुट्टै रजिस्टर खडा गरी सनाखत गराउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित कार्यालयलाई निर्देशन समेत गरेको छ। 

प्रतिक्रिया