सोमबार, असोज ११, २०७८

भक्तपुर नगरमा जनप्रतिनिधि आएपछि फेरियो जनस्वास्थ्य, नगरवासीको भरोसा बन्यो अस्पताल

ज्योतिन्यूज २०७८ भदौ १४ गते ९:०४

भक्तपुर- भक्तपुरका पुनबहादुर मुस्याख्व विसन्चो हुनासाथ स्वास्थ्य जाँचका लागि च्याम्हासिंहस्थित ख्वप अस्पताल पुगिहाल्छन् ।

पहिले झारफुकमा समेत विश्वास गर्ने उनी अहिले अस्पताल पुगिहाल्छन् ।  ‘पहिले उपचार गर्न महँगो थियो । तर अहिले सस्तो मात्रै होइन, कुनै औषधि त सित्तैमा पनि आउँछ,’ उनले भने ।

भक्तपुर नगरपालिकाले ख्वप अस्पतालको सञ्चालनको व्यवस्थापन चुस्त बनाएपछि अस्पतालले गुणस्तरीयता पनि बढेको हो ।

भक्तपुरकी मनमाया श्रेष्ठ पनि अस्पताल पुगिहाल्छिन् । भन्छिन, ‘पहिले विरामी भएपछि राम्रो उपचारका लागि काठमाडौँ पुग्नु पर्ने बाध्यता थियो । तर अहिले त्यो छैन । केही मिनेटको हिँडाइले अस्पताल पुग्छौँ र राम्रो सेवा लिन्छौँ ।’

पहिले जनस्वास्थ्य केन्द्रको रुपमा रहेकोमा नगरपालिकामा जनप्रतिनिधि आएपछि अस्पतालमा रुपान्तरण गरिएको हो ।

पालिकाको कार्यपालिकाको आठौँ नगरसभाले ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली-२०७७ पारित गरेको छ । सोहीअनुरुपख्वप अस्पतालका लागि आवश्यक अक्सिजन प्लान्ट, भौतिक पूर्वाधार, जनशक्तिको व्यवस्थापन भएको मेयर सुनील प्रजापतिले बताए । उनका अनुसार स्थानीयको स्वास्थ्यलाई ध्यानमा राखी ‘एक वडा एक नर्स’ कार्यक्रम ल्याएको छ ।

पलिकाका स्वास्थ्य शाखा प्रमुख डा. रत्नसुन्दर लासिवाका अनुसार पहिलेको तुलनामा दैनिक ५० प्रतिशत सेवाग्राही बढेका छन् । उनले पहिले एक सय ५० देखि दुई सयसम्म विरामी उपचारका लागि आउन गरेकामा सो संख्या बढेर ६ सयभन्दा बढी पुगेको छ ।

सामान्य उपचारबाट मात्रै सुरु भएकोे अस्पतालले हाल बालरोग, स्त्रि रोग, हाड तथा छाला रोग, २४ सै घन्टा आकस्मिक सेवा दिँदै आएको छ ।

अस्पतालमा ३३ जना विशषज्ञ चिकित्सकसहित एक सय दुई जना कर्मचारी छन् । ‘अस्पतालमै फार्मेसी सञ्चालन गरिएको छ,’उनले भने, ‘केही औषधिबाहेक निःशुल्क छ ।’

अस्पतालका लागि ६ तले भवन निर्माणाधीन छ ।  तल्लो तीनवटा तलाको काम सम्पन्न भएपछि सेवा सुचारु गरिने ख्वप अस्पताल भवन निर्माण आयोजना प्रमुख विजयराम कोजुले बताए । अस्पतालका चाहिने स्वास्थ्य सामग्रीका लागि टेण्डर आह्वान भइसकेको छ । 

प्रतिक्रिया