सोमबार, असोज ११, २०७८

सवा घन्टा चीनबाट आएको जहाज काठमाडौंको आकाशमा घुमेको घुम्यै

ज्योतिन्यूज २०७८ भदौ १४ गते ९:३६

काठमाडौं । चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ।

यसक्रममा जहाजले एक घण्टा बढी समय नेपालको आकाशमा फन्को लगाएको छ।

मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका क्रममा रहेको जहाजले ओभरसुट गर्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ।

सोमबार बिहान ६ः२९ का लागि अवतरण समय तालिका रहेको उक्त जहाजले अवतरणका क्रममा इमाडोल नजिकबाट ओभरसुट गरेको हो। उक्त जहाज बिहान ७ः५१ बजे मात्रै अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ।

मौसम खराबीले जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलका एक उच्च अधिकारीले जानकारी दिए। ‘जहाज सामान्य एप्रोचमा आएको हुन्छ, सामान्य मौसम खराबीले धावनमार्ग ‘रनवे’ मिस एप्रोच भए पनि नेक्स्ट एप्रोचका लागि ओभरसुट गर्नुपरेको हो,’ उनले भने।

काठमाडौँ उपत्यकाका आकाशमा सोमबार बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। हुस्सुले आन्तरिक उडान पनि सामान्य प्रभावित भएको छ । कतिपय गन्तव्यको उडान बिलम्ब भएको छ।

विमानस्थलमा आइतबार मौसम बदलीसँगै दिनभर निरन्तरको वर्षाले पोखरा गन्तव्यको उडान बढी प्रभावित भएको थियो । मौसम खराबीले भिजिबिलटी कम हुँदा पोखरा गन्तव्यका कतिपय उडान रद्द गरिएकोे बुद्धएयरले जनाएको छ। यस्तै विराटनगर र भरतपुर विमानस्थलमा पनि भिजिबिलिटीका कारण उडान केही विलम्ब भएको थियो।

देशभर बदली र निरन्तर वर्षाले आन्तरिक उडान सामान्य प्रभावित भएको होे । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रासस

प्रतिक्रिया