सोमबार, असोज ११, २०७८

पिता दिवसको शुभकामना !

हिरालाल चालिसे ' हरि ' २०७८ भदौ २२ गते १६:३१

पिता दिवसको शुभकामना !

आज बुवा अथवा पिताको मुख हेर्ने दिन । यस दिनलाई कुशे औंसी, पित्री तीरपानी औंसी र गोकर्ण औंसी पनि भनिन्छ ।

नेपालमा कुशे औंसी सनातन हिन्दू परम्परामा अनुसार भाद्र महिनाको अमावस्या अर्थात औंसी तिथिका दिन पर्दछ र यसै दिनलाई पिता दिवसको रुपमा मनाउने गरिन्छ भने अंग्रेजहरूले दिन फरक भएता पनि फादर्स डे को रुपमा मनाउने गर्दछन् जसको इतिहास पनि रोचक नै छ ।

न्यूयर्क टाइम्स अनुसार १९१३मा अमेरिकी कांग्रेसमा यस दिनलाई राष्ट्रिय पर्व रूपमा मनाउनु पर्छ भन्दै पहिलो चोटी बिल पेस गरिएको थियो।

राष्ट्रपति विल्सन यसलाई अधिकारिक दर्जा दिलाउन खोज्दै थिए, तर कंग्रेसले यसको विरोध गर्‍यो। १९५७मा सिनरेट मार्गरेट स्मिथले कंग्रेसलाई लेखेको पत्रमा भने कि ४० वर्षदेखि मातालाई सम्मानित गर्दै आइएको छ, तर पितालाई किन नजरअंदाज गरिंदैछ? १९६६मा राष्ट्रपति लिण्डन जोनसनले पहिलो चोटी जून महिनाको तेस्रो आइतवारको दिन फादर्स डे मनाउने सरकारी घोषणा गर्नु भयो। छ वर्ष बितीसके पछि राष्ट्रपति रिचर्ड निक्सन द्वारा यस सम्बन्धमा एक कानुनमा हस्ताक्षर गरे पछि फादर्स डे अमेरिकामा राष्ट्रिय छुट्टीको दिन बन्न पुग्यो। र यसरी पितालाई सम्झने दिनको रुपमा मनाउन थालियो।

बुवालाई मिठो खानेकुरा खुवाएर र उपहार दिएर यो दिन मनाइन्छ । बुवाको मुख हेर्ने दिन बुवाले गरेका त्याग, समर्पण र मायालाई विशेष रुपमा सम्झिने अवसर हो । आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।

जन्मदेखि सन्तानको लालनपालन, शिक्षा दिक्षा, उज्वल एबम् सबल भविष्यको लागि पिताले धेरे संघर्ष गरेका हुन्छन् । आफ्नो सन्तानको खुसीका लागि एउटा पिता यति धेरै संघर्ष , त्याग र तपस्या गरिरहेका हुन्छन् कि एक दिन मुख हेरेर, सामाजिक सञ्जालमा तस्बिरहरू सजाएर त्यसको क परिपूर्ति कदापि हुनै सक्दैन ।

थाकेको शरीर बोकेर पनि काममा जाने मेरो पितालाई हार्दिक नमन

एक पिता सय सन्तानका पालनहार बन्न सक्छन्, तर सय सन्तान एक पिताको पालनकर्ता बन्न नसक्ने अवस्था पश्चिममा रोमालिएको आधुनिकताले निम्त्याएको छ। सन्तानमा माता पिता प्रतिको माया शब्दमा मात्रै होइन ; भावनामा पनि हुनु पर्दछ, अधिकार र आवश्यकता पूर्तिका लागि मात्रै होइन; कर्तव्य पालनमा पनि हुनुपर्दछ र व्यवहार पनि हुनु पर्दछ ।

संसारमा कसैको सन्तानको रुपमा जन्म लिनु ठूलो कुरा होइन । जन्म, मृत्यु, धर्म, कर्मका साथै जीवन बाँच्नुको अर्थ आफ्ना सन्तानलाई हरेक पिताले सहिरुपमा सिकाउने प्रयत्न गर्दछन् , सन्तानलाई यो कुरा बुझ्न र महशुस गर्न पूरा जीवन नै लाग्दछ ।

पिता सन्तान जन्मको वा सृष्टिको स्रोत मात्रै होइनन्, परिवारको संरक्षक पनि हुन । हिन्दु ग्रन्थ अनुसार माता, पिता र गुरुलाई भगवानको मानव रुप मानिन्छ । विभिन्न धर्म संस्कार, जातजातिहरुमा पिता जनाउने अनेक शब्द छन् तर पितालाई रक्षक, पालनकर्ता, जन्म र कर्म दिने व्यक्ति र संसार चिनाउने महान धर्मात्मा रुपमा लिइएको हुन्छ ।

‘पिता’, अथवा बढी बोलिने शब्द ‘ बुवा ‘ अर्थात ‘ बाबा ‘ जे भनेर सम्बोधन गरौँ, सु सन्तान वा सुपुत्र वा सुपुत्रका लागि यो शब्दको नाता कति स्नेही, अनमोल र मूल्यवान् छ ? शायदै यसलाई वर्णनात्मक रूपमा व्याख्या गर्न नै संभव छैन । पिता केबल एउटा नाता जनाउनका लागि बनाइएको शब्द मात्र होइन, यो परम सत्य हो अनि यो एउटा उर्जाशील प्रेरणाको अनन्त स्रोत पनि हो । पितासँग हरेक सु सन्तानको भावना, प्रेरणा, माया र विश्वास गहिरो रुपमा जोडिएको हुन्छ, जुन कसैले कृतिम रुपमा जोड्न, तोड्न र मोड्न सक्दैन।

हामीलाई जन्म दिएर सङ्घर्ष गर्न सिकाउने, असत्यसँग लड्न सिकाउने, पारिवारिक र समाजिक दायित्व बोध गर्न सिकाउने, उद्देश्य के हो र त्यको प्राप्ति कसरी गर्न सकिन्छ भनेर सिकाउने पितालाई हामीले बुबा, बाबा, ड्याडी, पापा, फादर जस्ता अनेकौं शब्दले पनि सम्बोधन गर्दछौं । हरेक सन्तानका जन्मदाता, संरक्षक र सच्चा सर्मथकका साथै सु सन्तानको जीवनको पहिलो मार्ग निर्देशक वा पथप्रदर्शक हुन पिता ।

नाताले पिता बन्न सजिलो होला तर कर्म र कर्तव्यले पिता हुन सजिलो छैन । सन्तान चाहे पुत्र होस् वा पुत्री सबैका लागि पिता अत्यन्तै प्यारो र पुजनीय हुन्छन् । पिताले आफ्ना सन्तानलाई माया र संरक्षण मात्र होइन, सङ्घर्ष गर्न पनि सिकाएका हुन्छन् । कयौं दुःख, पीडा, आफ्ना व्यक्तिगत इच्छा चाहनाहरू लुकाएर अनेकन अपजस र अपमानमा पनि मौनता साँधेर आफ्ना सन्तानलाई खुसी दिने प्रयत्न गरिरहेको हुन्छन् । पिताको पितृत्व बिनाको परिवार पर्खाल ( गारो ) विनाको घर जस्तै हुन्छ । न त्यहाँ लड्न खोज्दा समाउने दह्रा हातहरू हुन्छन् न त कठिनता मा सान्त्वना दिने गरी सम्हाल्ने व्यक्ति नै ।

सुसन्तानका लागि पिता कर्म र धर्म योद्धा हुन्, पिता ऊर्जावान हुन्छन् र प्रेरणाको स्रोत पनि । उनैको प्रेरणा र ऊर्जाले सन्तानलाई अगाडि बढ्न र मानव बन्न प्रेरित गर्दछ र सन्तानको सफलताको पछाडि पिताको सङ्घर्ष अद्भूत हुन्छ । त्यही अद्भूत र अगणितिय सङ्घर्ष र त्यागलेनै सन्तानको प्रगति मापन गरेको हुन्छ । तर सन्तानले त्यो सङ्घर्ष र त्यागलाई बुझ्न र मनन् गर्न अनि त्यो त्यागलाई सम्मान गर्न बिर्सियो भने सन्तान हुनुको कुनै अर्थ हुँदैन ।

आज भोलि हामीले माता पितालाई प्रेम, सम्मान, आदर अनि प्रशंसा गर्न सामाजिक सञ्जाल अझ भनौं फेसबुकको प्रयोग गर्ने परम्परा बढाएका छौँ ।

सामाजिक सञ्जाल मा स्नेही पूर्ण स्ट्याटस राखेर जसरी पिता लाई सम्झिरहेका हुन्छौं त्यसरी नै हामीले जीवन भर पिता प्रतिको स्नेह, सम्मान तथा आदर व्यवहारमा देखाउन सकेमा र आज फेसबुकका भित्तामा सजिएका निर्दोष तस्बिरहरू भोलि वृद्धाश्रममा देख्ने अवस्था नआएमा मात्र वास्तविक रुपमा पिताको पितृत्वको सम्मानको अर्थ हुनेछ । र अन्तमा थाकेको शरीर बोकेर पनि काममा जाने मेरो पितालाई हार्दिक नमन । यिनै शब्द भाव बाहेक पितालाई हामी के उपहार दिउँ, जन्मदाता र कर्मदातालाई उपहार दिने हैसियत हामीसँग छैन ।

– लेखक खड्ग देवी माध्यमिक विद्यालय बडिगाड १ बागलुङ का शिक्षक हुन्।

प्रतिक्रिया