सोमबार, असोज ११, २०७८

निजामती सेवा दिवसको सान्दर्भिकता

दुर्गादत्त ढकाल २०७८ भदौ २२ गते १८:१४

देशका नागरिकको हित संरक्षण गर्न राज्यवाट सृजना गरिएको सशक्त संगठनात्मक स्वरुपको नामलाई निजामती सेवा भन्ने गरिन्छ। यस अर्थमा राज्य र निजामती सेवा वीच सेवाको सहज प्रत्याभूतिको संझौता भएको मान्न सकिन्छ। यो संझौताको परिपालन गर्नु गराउनु दुबै पक्षको दायित्व अधिकार र कर्तव्य हो।

तर नेपालको निजामती सेवाको ६५ वर्षे इतिहास वि सं २०१३।५।२२ देखि शुरु भई वि सं २०७८।५।२२ सम्म पुगेको र सेवा दिवस मनाउने प्रचलन २०६१।५।२२ देखि मात्र शुरु भएको समयकालिन सन्दर्भलाई मनन गर्दा सन्तुष्टिको सास सहजै फेर्न सकिने अवस्था देखिन्न। न त राज्य कर्मचारीको कामवाट सन्तुष्ट भएको देखिएको छ न त कर्मचारीहरु पनि राज्यको काम कारवाही र व्यवहारवाट सन्तुष्ट देखिन्छन्। यसरी कानुनी रुपमा संझौताका शर्तहरुको उलंघन गर्नुलाई करारको समाप्ति भन्न सकिन्छ। तर नेपालमा न करारको समाप्ति भएको छ न करारको इमान्दारीताका साथ परिपालना नै भएको छ। यहाँ त एउटाले अर्कोलाई दोषारोपण गर्दै समय खर्च गरेको देखिन्छ। यही नै दुबै पक्षको कमजोरी र निजामती सेवाको चुनौति हो।

सामन्तवादी संस्कृतिमा जन्मेको निजामती सेवा र राणाकालीन हुकुमी शासनको विराशतलाई विसाउन नदिने लोकतान्त्रिक शासन व्यवस्थामा जनताको अपेक्षाहरुको उपेक्षा हुन गएको अर्थ लाउने गरिएको छ। तर यसमा पनि पूर्ण सत्यताको अंश कमै देखिन्छ।

आधुनिक कार्य सम्पादन उपकरण तथा प्रविधिको प्रयोग तथा प्रतिष्पर्धामा उम्दा कर्मचारीहरुको सेवामा प्रवेश र नियमनकारी तथा अनुगमनकारी निकायहरु र पदाधिकारीहरुको सक्षमता र सकृयताले नेपालको निजामती सेवा पनि सक्षम सुदृढ सेवामुलक र उत्तरदायित्वको बाटोमा अगाडि बढिरहेको अवस्था रहेको छ।

तर करारका शर्तहरुको अपेक्षित कार्यान्वयन हुन नसकेकोले होला संझौताका पक्षहरुले आ-आफ्नो व्यवहारवाट संझौताको परिमार्जन गरेको देखिन्छ। तर यो परिमार्जनले निजामती सेवालाई अझबढी उर्जाशिल बनउनुको सट्टा उदासिन र राजनैतिक नेतृत्वमाथि विज्ञताको विवेक बाँडन बन्चित भएझै लाग्दछ। यसरी कानुनमा लेखिएका कुराहरु कार्यान्वयनमा लैजान तथा आफ्नै असल विवेकले काम कारवाही फछ्यौट गर्न पनि सोध्नु पर्ने अवस्थामा धकेलिएको प्रतित हुन्छ। त्यसैले जनतालाई सन्तुष्टि दिलाउने गरि कार्य सम्पादन हुन नसकेको हो। सरकारका नीतिको कार्यान्वयन गर्ने र सेवाग्राहीको काम गर्नु भन्दा प्रकृयामै अल्झिन पुगेको हो।

निजामती सेवालाई व्यवसायिक बनाउदै सक्षम र सुदृढ सेवाको विकास गर्ने अपेक्षाहरुमाथि उल्झन आएको हो। कर्मचारीहरु आफ्नै सेवा सुविधामा रमाउन चाहने सरकार आफन्तकै हितमा रनभुल्ल हुने भएपछि मुलुकको विकास र जन सेवाका विषयहरु बहसका बिषयहरु मात्रै भएका हुन्। नतिजामुखी  हुन नसकेका हुन्।

कर्मचारीलाई राजनीतिवाट राज्यका कार्य सम्पादनमा निश्पक्षरुपमा लगाउन सकेमा राजनीतिज्ञलाई नातावादमा नतमस्तक हुने मानसिकतावाट अलग्याउन सकेमा तथा जनतालाई चाकडीमा लगाउने मानसिकतावाट हटाउन सकेमा मात्र मुलुकमा स्वच्छ र निश्पक्ष प्रशासनको विकास हुन सक्दछ।

अझ पेचिलो कुरा सार्वजनिक प्रशासनको सिद्दान्त विपरित निजी काममा कर्मचारीहरुको खटनपटन गर्ने पद्दतिमा अन्त्य नै हुनुपर्ने खाँचो देखिन्छ। एउटा लोक सेवा आयोग वाहेक अरु निकाय र कर्मचारीको कामप्रति जनताको यथार्थमा विश्वास र भरोशा नहुने वातावरणमा निजामती सेवाको साँख जोगिन सक्दैन। त्यसैले विड्रो विल्सनले भने झै राजनितिमा तटस्थ मुल्य अवलम्वन नगरेसम्म र राजनीतिज्ञको भरोसा र विश्वास लिन नसकेसम्म निजामती सेवाले जनतावाट सम्मान पाउन सक्दैन।

जनताले पनि सास्ती र हैरानी भोग्नु पर्दछ। राजनीतिज्ञले पनि जनताको मनवाट इज्यत पाउन सक्दैनन्। त्यसैले कर्मचारी र राज्य वीच स्थापित सहमतिलाई दुबैपक्षले उचित सम्मान र कदर गर्दै पालना गरेमा मात्रै दुबैको कदर हुने कुरामा दुईमत नहोला। निजामती सेवा दिवस मनाउनुको सान्दर्भिकता पनि साकार होला।

दुर्गादत्त ढकाल

लामो समयसम्म निजामती सेवामा रही काम गरेका ढकाल पूर्व सहसचिव हुन् ।

प्रतिक्रिया