शुक्रबार, कार्तिक ५, २०७८

संखुवासभा हत्याकाण्डः हत्या गरेको आरोपमा आफन्त पर्ने पक्राउ

ज्योतिन्यूज २०७८ भदौ २६ गते १०:५८

काठमाडौं । संखुवासभाको मादीमा ६ जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आफन्त पर्ने एक जनालाई पक्राउ गरेको छ ।

शनिबार बिहान प्रहरीले नाता पर्ने छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको हो।

गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।

प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शङ्काको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ ।

संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हत्या आरोपीलाई आइतबार सार्वजनिक गरिने छ ।

हत्यामा एक व्यक्तिको मात्रै संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ । सुरुमा तेजबहादुरको हत्यापछि परिवारका अन्य सदस्यको हत्या भएको स्रोतको दाबी छ ।

प्रहरी स्रोतका अनुसार आरोपीले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अपराध कबुल गरेको हो । मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ।

प्रतिक्रिया