सोमबार, असोज ११, २०७८

ओमानद्वारा नेपाल पाँच विकेटले पराजित, ब्याटिङ र बलिङ दुवै कमजोर

ज्योतिन्यूज २०७८ भदौ ३० गते ६:३२

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय खेलमा आयोजक ओमानले नेपाललाई पाँच विकेटले पराजित गरेको छ । 

मंगलबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा एक सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ओमानले ३१ ओभर १ बलमा पाँच विकेट गुमाउँदै एक सय ९८ रन बनाएको हो । 

ओमानको जितमा जितेन्दर सिंहले शतक प्रहार गरे । विस्फाटक ब्याटिङ गरेका सिंहले ६२ बलमा ६ छक्का र १२ चौकाको मद्दतमा १०७ रन बनाए । ओमानको जितमा मोहम्मद नदीमले ३८ रन बनाउँदा सुरजकुमारले २० तथा आयन खानले १८ रन बनाए । 

नेपालको तर्फबाट कुशल मल्ल र करण केसीले सर्वाधिक २–२ विकेट लिए । १० ओभर पूरा बलिङ गरेका कुशलले ३७ रन खर्चिए । यस्तै, पाँच ओभर बलिङ गरेका करणले ५२ रन खर्चिएका थिए । उनी सर्वाधिक महँगा बलर बने । चार ओभर बलिङ गरेका सोमपाल कामी पनि ओमानविरुद्ध महँगो साबित भए । एक मेडन राखेका सोमपालले ३५ रन खर्चिएका थिए । 

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै एक सय ९६ रन बनाएको थियो । 

नेपालका लागि आशिफ शेखले सर्वाधिक ९० रन बनाएका थिए । एक सय १२ बलमा एक छक्का र सात चौका प्रहार गरेका शेखले करियरकै उत्कृष्ट ब्याटिङ गर्दै ९० रन बनाएका हुन् । यस्तै, करन केसी र कप्तान ज्ञानेन्द्र मल्लले समान २१ रन बनाउँदा रोहित पौडेलले २० रन बनाए । सन्दीप लामिछानेले १६ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । 

यता, टस हारेर बलिङ गरेको ओमानका लागि बिलाल खानले सर्वाधिक चार विकेट लिए । १० ओभर बलिङ गरेका खानले एक मेडनसहित ४७ रन खर्चिएका हुन् । यस्तै, नेष्टोर धम्बाले दुई विकेट लिए । पाँच ओभर बलिङ गरेका उनले २५ रन खर्चिए । मोहम्मद नदीम र जिशान माक्सुदले समान एक विकेट लिए । 

सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । नेपालको ६ खेलबाट ६ अंक छ भने ओमानले ११ खेलबाट १८ अंक बनाएको छ । 

प्रतिक्रिया