मंगलबार, कार्तिक २, २०७८

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

ज्योतिन्यूज २०७८ असोज ७ गते १०:२०

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बिहिबार) पनि बस्दैछ । दिउँसो तीन बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको कांग्रेस नेता गोपालमान श्रेष्ठले जनाकारी दिनुभयो ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, पार्टीको १४औँ महाधिवेशन, क्रियाशील सदस्यता लगायतका विषयमा छलफल हुने जनाइएको छ । यस अघि पदाधिकारीको बैठक बुधबार पनि बसेको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्री नियुक्त गर्दा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा छलफल नगरेको भन्दै असन्तुष्टि जनाएको थियो ।

हिजो बसेको बैठकमा आसन्न १४औं महाधिवेशनको कार्यतालिकामा केन्द्रित रहेको थियो । दशैंअघि गाउँ÷नगर अधिवेशन मात्रै सक्ने गरि कार्यतालिका पुनः संशोधन गर्ने निर्णय भएको छ ।

वडा अधिवेशन हुन नसकेका १३ जिल्लाको क्रियाशील सदस्यता टुंगाउने जिम्मेवारी पुनः तीन सदस्यीय कार्यदललाई दिइएको छ ।

नेता कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले नामावली छिटो टुंगाउन सकेमा असोज ९ अघि बाँकी जिल्लामा वडा अधिवेशन गरिने भएको छ ।

प्रतिक्रिया