शनिबार, मंसिर १८, २०७८

एमाले कार्यदलबाट भीम रावलले दिए राजीनामा

ज्योतिन्यूज २०७८ कार्तिक ५ गते १९:०७

काठमाडौं । नेकपा एमालेको विवाद समाधन गर्न गठन गरिएको एमाले एकता कार्यदल संयोजकबाट एमाले उपाध्यक्ष समेत रहेका भीम रावलले राजीनामा दिने घोषणा गरेका छन् ।

एमालेमा १० बुँदे सहमति पालना नभएको भन्दै लामो समयदेखि असन्तोष पोखिरहेका उनले शुक्रवार भएको स्थायी कमिटि बैठकका निर्णयप्रति फरक मत राख्दै सो कार्यदलबाट राजीनामा दिएका हुन् ।

उनले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा ५ पृष्ठ लामो लिखित फरक मत बैठकमा राखेका छन् ।

‘यो मेरो व्यक्तिगत कुरा होइन । अपानिबाट जारी भएको कुरा कार्यान्वयन गर्ने कि नगर्ने भन्ने कुरा हो । र, त्यसको कार्यान्वयन नगर्ने तर्क आएको हुनाले म त्यसप्रति सहमत हुन सकिनँ’, उनले भने ।

रावलले थपे, ‘एकातिर भीम रावललाई कार्यदल संयोजकको जिम्मा छ कार्यान्वयन गरे भइहाल्यो भन्ने, अर्कोतिर पार्टीमा भएका छलफल र केन्द्रीय कमिटीले गरेको निर्णय मान्ने नभएपछि त्यो कार्यदलमा बसिरहनुको कुनै औचित्य नभएको हुनाले त्यसबाट राजीनामा दिने बैठकमा घोषणा गरेको छु र लिखित रूपमा भोलि अध्यक्षलाई पठाउने जानकारी गराएको छु ।’

प्रतिक्रिया