शनिबार, मंसिर १८, २०७८

मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मतः कति आयो भोट ?

ज्योतिन्यूज २०७८ कार्तिक २२ गते १७:३५

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत पाएका छन् ।

गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका उनले प्रदेशसभाको सोमबार बसेको बैठकमा विश्वासको मत पाएका हुन् ।

एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् ।

एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले सोमबार विश्वासको मत लिएका हुन् । सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरेअनुसार उनको पक्षमा ५९ मत आएको छ भने विपक्षमा ४७ मत आएको छ । त्यस्तै पक्ष या विपक्ष कुनैमा पनि २ जनाले भोट हालेनन् । आज बैठकमा १०४ जना उपस्थित रहेका थिए ।

बागमतीमा हाल १०९ प्रदेशसभा सदस्य रहेकोमा विश्वासको मतका लागि बहुमत ५५ जना सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई÷दुई, जनता समाजवादी पार्टी नेपालको एक जना सांसद छन् ।

गठबन्धनमा माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी आवद्ध रहेकाले उनले सजिलै विश्वासको मत पाएका हुन् ।

प्रतिक्रिया