शनिबार, मंसिर १८, २०७८

मोडल रायमाझी भन्छन्ः गाँउ त बद्लियो, मानिसको सोँच बद्लिएन

ज्योतिन्यूज २०७८ मंसिर २ गते १६:०६

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका ८ का स्थायी घर भई हाल मोडलिङ्गको क्षेत्रमा चर्चाको शिखरमा रहन सफल भएका मोडल ओवी रायमाझी आफ्नो गाँउ वामीको ५ दिने बसाई सकेर भर्खरै मात्र काठमाडौं फर्किएका छन् ।

पछिल्लो समय रमरम मरौटी गीतमा अभिनय गरेर चर्चित रहेका उनले वामीमा करिब तीन वटा गीतहरुको भिडियो छायांकन मात्र सम्पन्न गरेका छन् । आफ्नो गाँउलाई देश विदेशमा चिनाउने, यहाँको पर्यटन प्रवर्द्धन गर्ने तथा यस क्षेत्रको सर्वाङ्गीण विकासको निम्ती आफूले कलाकारिताको क्षेत्रमा निकै मिहेनत गरिरहेको उनले बताउँछन् ।

सोही क्रममा उनकै विशेष नेतृत्वमा मुसिकोट नगरपालिकालाई नै देशविदेशमा परिचित गराउने उद्देश्यसहित ‘बर माग्न जाँउला मालिका‘ बोलको गीत बजारमा ल्याएका थिए । जसमा मुसिकोट नगरपालिका भित्रका ऐतिहासिक पर्यटकीय क्षेत्रहरुलाई प्रसिद्धि दिलाउने गरी भिडियो सुट गरिरहेको थियो । उक्त गीत भिडियो लाखौ मानिसहरुले हेरेका छन् ।

केही दिनदेखि वामीमा रहेका कलाकार रायमाझीले अहिले मात्रै तीनवटा गीतको भिडियो सुटिङ सम्पन्न गरेको जानकारी दिए ।

ती भिडियोहरु मार्फत गाँउ, बजार, बस्ती, खोलानाला, मठ मन्दिर, पूराना बरपीपल कोट, धार्मिक सामाजिक, ऐतिहासिक स्थलहरु, वन जंगल लगायतका विषयहरुलाई चर्चामा ल्याउन खोजेको उनले बताएका छन् ।

तर आफूले मिहेनत गरेर गाँउलाई चिनाउने प्रयास गर्दैगर्दा केही व्यक्तिहरुको सोँच र विचार देख्दा अचम्मित भएको उनले बताए । ‘आफ्नो गाँउ ठाँउ प्राण भन्दा पनि प्यारो लाग्छ, अझ भनौ साच्चिकै हाम्रो मुसिकोट नगरपालिका अझै मिलेको धेरै नै रमणीय नै छ’, उनले भने, ‘पछिल्लो समय गाँउ विकास हुँदै गयो, यहाँको अवस्था त फेरियो, तर मानिसहरुको पूराना सोँच अझै फेरिएन ।’

उनले अघि भने, ‘तर झट्ट हेर्दा विकास पनि भएको नै हो, धेरै चेन्ज पनि पाएका छौँ, तर अफसोच अलि कति दुख लागेको कुरा, हाम्रो ठाउका युवाहरु सँग जति जोश जागर छ उनिहरुको टार्गेट योजना पटक्कै देखिन मैले, सबै आउट अफ लाइन पाएँ ।’

थोरै समाज परिवर्तन भएपनि मानिसहरुको मानसिक परिवर्तन भने हुन नसकेको उनको भनाइ छ ।

खासगरी उनले आफ्नो सुटिङ्गको क्रममा स्थानीय बासिन्दाले पुर्याएको अवरोध र पुरातनवादी सोँचले पाएको दिक्कदारी तर्फ केन्द्रीत गर्दै उक्त भनाई राखेका हुन् ।

‘आफूले गाँउको पहिचान बढाउन गरेको मिहेनतमा गाँउबासीले पनि साथ दिएको भए राम्रो हुनेहो, तर त्यो भन्दा फरक व्यवहार पाइयो, यो गलत हो,’ उनले भने ।

उनले आफू मात्र नभएर अन्य व्यक्तिहरुले पनि यसप्रकारका प्रोजेक्ट ल्याएर गाँउ आएको खण्डमा यस क्षेत्रका स्थानीय बासिन्दाहरुले भरपूर सहयोग गर्नुपर्ने बताए ।

आफूले भिडियो सुट गर्ने क्रममा साथ सहयोग गर्नेहरुप्रति धन्यवाद दिदै विशेष रुपमा होटल दरबारले देखाएको सौहार्दताप्रति आभार व्यक्त गरे ।

उनले दर्जनौ भिडियोमा अभिनय गरेका छन् । आफ्नो स्वरमा पनि गीत बजारमा ल्याएका उनको अभिनय भएका पछिल्ला गीतहरु रमरम मरौटी, रेलको तखत, माया देकै हो, मायालु आजैलाई, सोँचेझै जिन्दगी रैनछ, लगायत रहेका छन् ।

प्रतिक्रिया