शुक्रबार, माघ ७, २०७८

देउवाले तीन शीर्ष नेताहरुलाई केन्द्रीय सदस्य मनोनित गर्दै

ज्योतिन्यूज २०७८ पुष ८ गते १७:२८

काठमाडौं । नेपाली कांग्रेसमा दोस्रोपटक सभापतिको कार्यकाल शुरू गरेका प्रधानमन्त्री शेर बहादुर ३ जना शीर्ष नेताहरुलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्ने तयारी गरेका छन् ।

पुस १० गते केन्द्रीय समिति बैठक बोलाएका सभापति देउवाले नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र प्रकाशमान सिंहलाई केन्द्रीय सदस्य मनोनित गर्न लागेका हुन्।

केन्द्रीय सदस्य मनोनित हुन लागेका सिंह १४औं महाधिवेशनमा पार्टी सभापतिका प्रतिस्पर्धी थिए। सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुँदा सिंहले देउवालाई समर्थन गरेका थिए।

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको बैठक शनिबार बस्न लागेको छ। केन्द्रीय समितिको पहिलो बैठक बस्नु अगाडि सभापति देउवाले ३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गर्न लागेका हुन्।

कांग्रेसको विधानमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्नसक्ने व्यवस्था छ।

१४ औं महाधिवेशनमा सभापतिमा जितेका देउवालाई पदाधिकारीसहित केन्द्रीय समितिमा दुई तिहाई बढी जित देखिएको छ ।

शेखर स्वत: केन्द्रीय सदस्य

यस्तै सभापतिका उम्मेदवार बनेका शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बन्ने भएका छन्। नेपाली कांग्रेसको संशोधित विधानमा रहेको एउटा प्रावधानले उनलाई स्वतः केन्द्रीय बन्न बाटो खुला गरेको हो।

कांग्रेसको विधानको धारा ६५ मा पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुने व्यवस्था गरिएको छ । सोही प्रावधानको आधारमा उनी केन्द्रीय सदस्य हुने भएका हुन् ।

प्रतिक्रिया