शुक्रबार, माघ ७, २०७८

बुटवल-नारायणगढ सडक विस्तारमा ढिलाई : सडकको कामको प्रगति ११ प्रतिशत मात्रै ।

ज्योतिन्यूज २०७८ पुष २८ गते १०:१७

बुटवल ।
बुटवल–नारायणगढ सडक खण्ड बिस्तारमा ढिलाई हुँदा तोकिएको समयमै नसकिने निश्चित भएको छ । सडक विस्तारको ठेक्का लिएको चिनियाँ कम्पनीले काम सक्न दुई वर्ष थप समय माग गरेसँगै आयोजना समयावधी भित्र नसकिने भएको हो ।

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले कोरोना कहर तथा लकडाउन, लगातारको वर्षात् सँगै साइट क्लिरियरमा ढिलाई हुँदा निर्माण कार्य प्रभावित भएको र कामको लोड पनि थपिएको भन्दै म्याद थप्न माग गरेको छ । निर्माण पक्षले सडक विस्तारको म्याद थप्न माग गर्दै कन्सल्टेन्टलाई पत्र समेत बुझाएको बुटवल–नारायणगढ सडकखण्डका प्रमुख इन्जिनियर रमेशकुमार दिष्टीले बताए ।

निर्माण पक्षले म्याद थप्न माग गरेका कारण कन्सल्टेन्टले नारायणगढ–बुटवल सडक योजनालाई सिफारिस गर्छ । त्यसैका आधारमा हामीले सिफरिस गर्छौं,’ इन्जिनियर दिष्टीले भने, ‘म्याद थपका लागि सम्झौताअनुसार कन्सल्टेन्टमा कागज पेस भएको छ ।’

कोरोनाकालमा सडक विस्तारको काम रोकिएको भन्दै चिनियाँ ठेकेदार कम्पनीले म्याद थप्न माग गरेको उनले बताए । दुई महिनायता सडक निर्माणको काम धमाधम भइरहेको र म्याद थप गरेरै भए पनि काम सक्नुपर्ने दिष्टीको भनाइ छ ।

यता दाउन्ने–पश्चिमको सडक विस्तारको काम हेर्दै आएका इन्जिनियर प्रदीपराज शाक्यले यो खण्डमा हालसम्म करिब ११ प्रतिशत मात्रै काम भएको र अहिले केही दिनदेखि नियमित विस्तारको काम चलिरहेको बताए । यहाँ दैनिक पाँच सय जना कामदारले काम गरिरहेको, साइट क्लिरियर गर्ने काम भइरहेको उनकाे भनाइ छ । यद्यपि तोकिएको समयमा यो पूरा हुने अवस्था नरहेको उनको भनाइ छ ।

निर्माण कम्पनीसँग २०२२ अगष्टसम्म काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो ।अहिले दुई वर्ष थप गरेर आगामी २०२४ अगष्ट २४ तारिखसम्मको म्याद थप गर्न माग गर्दै निवेदन आएको आयोजनाले जनाएको छ । लकडाउनका कारणले काम प्रभावित भएको र त्यसअघि रुख कटानको स्वीकृति र बिद्युत पोल सार्ने काम नभएकाले काम प्रभावित भएको थियो । यी सबै काम अहिले विस्तारै चलिरहेका छन् ।

आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र नारायणगढलाई फास्टट्रयाक सडकले जोड्नेगरी यो सडक विस्तार आयोजना सुरु भएको हो । यो सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । निर्माण कम्पनीले ठाउँठाउँमा सडक भाँसिएको, घोडाहा र तुरिया खोलाको पुल भाँचिएका कारणले पनि ढिलाई भएको बताउँदै आएको छ । सम्झौता भएकोभन्दा अतिरिक्त भार परेको भन्दै म्याद थपको माग गरेको निर्माण कम्पनीले जनाएको छ ।

कुल ११३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ अर्थात् दाउन्ने पश्चिम मानेर दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले पाएको छ ।

सो सडक चार लेनमा विस्तार हुँदैछ भने शहरी क्षेत्रमा अतिरिक्त सर्भिस लेनसमेत निर्माण हुने बताइएको छ । यस सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पुलसमेत निर्माण हुने गरी ठेक्का सम्झौता भएको थियो । साइड क्लिरियर भएपछि विस्तारको काम तीव्र हुने निर्माण कम्पनीको प्रतिबद्धता छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली तत्कालिन प्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएका बेलामा २०७५ चैत ८ गते बुटवलको राजमार्ग चौराहामा सडक विस्तारको कामको शिलान्यास भएको थियो ।

प्रतिक्रिया