शुक्रबार, माघ ७, २०७८

मल खरिद सम्झौता : भारतको प्रतिउत्तर कुर्दै नेपाल

जीटुजीका माध्यमबाट रासायनिक मल खरिद गरिने

ज्योतिन्यूज २०७८ पुष ३० गते १२:३९

काठमाडौं ।
रासायनिक मल अभाव हुन नदिन सरकारले प्रकृयागत गृहकार्यको थालनी गरेको छ । कृषकको राहतसंगै उत्पादन र उत्पादकत्व अभिबृद्धिका लागी कृषि तथा पशुपंक्षी मन्त्रालयले रासायनिक मल खरिद सम्झौता गर्दैछ । भारतसँग जीटुजी (सरकार–सरकार)का माध्यमबाट रासायनिक मल खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

सरकारले भारतसँग सरकारी संयन्त्र (जीटुजी) मार्फत यो वर्ष एक लाख ५० हजार टन मल आयात गर्ने तयारी गरेको छ । त्यसका लागि नेपालबाट आवश्यक कागजात भारत पठाइसकेको र भारत सरकारले अन्तिम स्वीकृत दिएपछि केही दिनभित्र सम्झौता गरिने मन्त्रालयले जानकारी दिएको छ ।

नेपालले भारतसँग पाँच वर्षसम्म मल खरिद गर्ने भनि सम्झौता गर्न लागेको हो। सुरुको वर्षमा एक लाख ५० हजार मेट्रिक टन मल खरिद गरिन्छ । त्यसपछि प्रत्येक वर्ष १० प्रतिशत वृद्धि गर्दै जाने सम्झौता हुन लागेको कृषि मन्त्रालयले जनाएको छ।

सरकारले बजारको मागअनुसार मल खरिद नगर्दा विगतका वर्षहरुमा किसानले अभाव खेप्दै आएका छन् । जीटुजीमार्फत मल आयात गरेपछि मलमा खरिदमा हुने कमिसन स्वतः हट्ने र यसको कारण किसानले सस्तो मूल्यमा मल पाउने अपेक्षा गरिएको छ ।

मन्त्रालयका अनुसार, पहिलो वर्ष एक लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन डिएपी ल्याइने भएको छ । त्यस्तै दोस्रो वर्ष १ लाख २० हजार मेट्रिक टन युरिया र ९० हजार मेट्रिक टन डिएपी ल्याउने तयारी गरिएको छ ।

जसका कारण यसपटक धान रोप्ने सिजनामा बजारमा रासायनिक मलको अभाव नहुने मन्त्रालयको दावी छ । मन्त्रालयले यसपटक असारमा किसानले सहजै मल प्राप्त गर्ने जनाएको छ ।

प्रतिक्रिया