शुक्रबार, माघ ७, २०७८

बौद्धिक सम्पत्ति संरक्षणको लागि नयाँ कानुन बन्दै

ज्योतिन्यूज २०७८ पुष ३० गते १६:११

काठमाडौँ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले बौद्धिक सम्पत्ति संरक्षणको लागि नयाँ कानुन बनाइरहेको बताएका छन्। बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको नवौं वार्षिक साधरणसभामा शुक्रबार बोल्दै सचिव पोखरेलले सरकारले बौद्धिक सम्पत्ति संरक्षणको लागि नयाँ कानुन बनाइरहेको बताएका हुन्।

उनले सरकारले बौद्धिक सम्पत्ति संरक्षणको लागि नीतिमा समावेश नभएका कुरा कानुनमा समावेश भएर आउने बताए। सचिव पोखरेलले यो विषयमा सरकार गम्भीर भएर लागेको भन्दै कानुन सम्पादन भएर कानुन मन्त्रालयमा पुगेको बताए।

‘बौद्धिक सम्पत्ति संरक्षणको लागि सरकारले लगानीकर्ताहरुको भन्दा बढी चिन्ता गरेको छ। सरकारले सरोकारवाला निकायहरुको चिन्ता चासोलाई गम्भीर रुपमा लिएको छ। त्यसैले सरकार नयाँ कानुन निर्माणको प्रक्रियामा रहेको छ’, उनले भने, ‘अहिले कानुन निर्माणको चरणमा कानुन मन्त्रालयमा पुगेको छ। कानुन मन्त्रालयबाट चाँडै संसदमा पेश गर्ने तयारीमा छौं। संसदको प्रक्रिया पुरा गरेर अगाडि नै बनेको नीतिमा समावेश गर्न बाँकी ऐन समावेश हुन्छ।’

त्यस्तै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकको अर्थतन्त्र स्कुस, गिट्टी र बालुवा बेचेर चलाउँछु भन्नेले बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसक्ने बताए। उनले बौद्धिक सम्पत्तिलाई हेला नभएर संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए।

त्यस्तै अर्थविद् डा. पोषराज पाण्डेले व्यापार तथा वस्तुको सर्भिसमा भित्रिएको नयाँ प्रविधि नेपालको व्यापार नीतिमा आउन नसकेको बताए। पछिल्लो समय विश्वमा व्यापार आधुनिक मोडलमा गएको उनको भनाइ छ।

डा पाण्डेले पछिल्लो चार वर्ष अगाडि बनेको नीतिमा बौद्धिक सम्पत्ति व्यापारसँग सम्बन्धित नभएको भन्ने विषय गलत भएको बताए।

‘अहिले व्यापारमा नयाँ आधुनिक मोडलमा समेत परिर्वतन भएको छ। तर नेपालको व्यापार नीतिमा नयाँ प्रविधिलाई समावेश गर्न सकेको छैन। सन् २०१७ सालमा बनेको नीतिमा समेत नयाँ प्रविधिका विषयमा एक शब्द समावेश गरिएको छैन’, उनले भने, ‘यसले पनि बौद्धिक सम्पत्तिको संरक्षणको प्रयोगमा नयाँ प्रविधिसँग जोड्न सकिएको छैन।

प्रतिक्रिया